रेडियो नेपाल बर्दिबासका मुख्य प्राविधिक अधिकृत चौधरी सेवा निवृत्त
जनकपुरधाम । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय मधेश प्रदेशमा कार्यरत मुख्य प्राविधिक अधिकृत बौएलाल चौधरी अनिवार्य अवकाश हुनुभएको छ । विक्रम संवत् २०४६ माघ १ गते रेडियो नेपालमा सेवा प्रवेश गर्नुभएका चौधरी ३५ वर्षभन्दा लामो समयसम्म रेडियो नेपालको प्राविधिक क्षेत्रमा सेवा गर्नुभयो ।

भैंसेपाट्टी प्रसारण केन्द्रमा तालिम पूरा गरेपछि चौधरी तत्कालीन बर्दिबास ट्रान्समिटिङ स्टेसनमा हाजिर हुनुभएको थियो । त्यसपछि उहाँ १८ वर्षसम्म सुदूरपश्चिममा अवस्थित प्रादेशिक प्रसारण केन्द्र दिपायलमा सेवा दिँदै करिब ५ वर्ष त्यहाँको कार्यालय प्रमुखको भूमिका समेत निर्वाह गर्नुभएको थियो । पछिल्लो चरणमा उहाँ सार्वजनिक सेवा प्रसारण केन्द्र बर्दिबासमा सेवा गर्दै आउनुभएकोमा भदौ २५ गतेबाट उमेर हदका कारणले अनिवार्य अवकाश हुनुभएको हो ।
चौधरीलाई आज रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिबासमा कार्यालयका तर्फबाट विदाई कार्यालय प्रमुख रामपुकार राम सहितका कर्मचारीहरूले विदाई गर्नुभयो । बिदाइ कार्यक्रममा सेवा निवृत्त कर्मचारी चौधरीले अब आफूले कृषि, बाख्रा, कुखुरा, माछा फार्म र टेक्निकल क्षेत्रमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्