तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरबाट लुटिएको नगद–सुन फिर्ता गर्ने क्रम बढ्यो

बाँके । कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा Gen-Z प्रदर्शनका क्रममा भएको आगजनी र लुटपाटपछि हराएको नगद र सुन–चाँदी प्रहरीलाई बुझाउने क्रम सुरु भएको छ।

कोहलपुर–१ का ३२ वर्षीय अजय परियारसहितका व्यक्तिहरूको पहलमा स्थानीय समाजसेवी र जनप्रतिनिधिहरूको सक्रियतामा फिर्ता प्रक्रिया अघि बढाइएको हो।

सोमबार राति इलाका प्रहरी कार्यालय कोहलपुरमा युवाहरूले फिर्ता गरेको सामग्रीमा नेपाली रुपैयाँ १,१७,६५०, भारतीय रुपैयाँ ८४,३६०, सुन ४२१.३२ ग्राम र चाँदी ९ किलो ९८४ ग्राम रहेको छ। राजस्व अनुसन्धान कार्यालयका शाखा अधिकृत खड्क प्रसाद उपाध्याय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा मुचुल्का तयार गरी सामग्री प्रहरीमा राखिएको प्रहरीले जनाएको छ।

बाँके प्रहरीले स्वस्फूर्त फिर्ता गर्नेहरूलाई कारबाही नगर्ने सार्वजनिक सूचना प्रकाशित गरेपछि जिल्लाका विभिन्न सरकारी र निजी घरमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न समूहहरूले समान फिर्ता गर्न थालेका छन्।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विध्वंसात्मक क्रियाकलापमा संलग्नहरूको फोटो, भिडियो र अन्य विवरण प्रदान गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button