तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

घोराही (दाङ)। पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आवमा छ सय ७० हेक्टर क्षेत्रमा केराखेती भएको ज्ञान केन्द्रसँग तथ्याङ्क छ । गत आवमा एक सय ५० हेक्टर केराखेती हुने क्षेत्रफल वृद्धि भएको हो । जिल्लाको उत्पादनले बजारको करिब ७० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वका समयमा भने बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको केन्द्रका प्रमुख भण्डारी बताउनुहुन्छ ।

“जिल्लामा पछिल्लो समय व्यावसायिक केराखेती बढ्दै गएको छ, उत्पादन वृद्धि भएको र आत्मनिर्भर उन्मुखतर्फ अगाडि बढेको छ”, प्रमुख भण्डारीले भन्नुभयो । रोपेको सबै बिरुवा उत्पादन दिने नभएकाले अहिलेलाई बाहिरबाट आउने केरामै भर पर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

जिल्लामा देउखुरीको राप्ती, शान्तिनगर,गढवा गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ । केराखेतीमा ठूलो लगानी गर्ने किसान तथा व्यवसायी पनि लागेको पाइएको छ ।

प्रमुख भण्डारीका अनुसार जिल्लामा केराखेतीको राम्रो सम्भावना छ, त्यसैले पनि पछिल्लो समयमा केराखेती गर्नेको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ । केराको बजारसमेत राम्रो रहेको उहाँ बताउनुहुन्छ । सबैले उपयोग गर्ने भएकाले केरा खपतमा समस्या छैन । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदानसमेत दिएको थियो ।

अन्य याममा जिल्लामा उत्पादन भएका केराले लगभग पुग्ने भए पनि चाडपर्वका समयमा जिल्ला बाहिरसँगै भारतबाट फलफूल भित्र्याउनुपर्ने अवस्था छ । केराको मागअनुसार उत्पादन हुन नसक्दा जिल्ला बाहिरबाट केरा ल्याउनुपर्ने हुँदा बर्सेनि करोडौँ रकम बाहिरिने गरेको व्यवसायी भगत विक बताउनुहुन्छ ।

“जिल्लाको उत्पादनले तीन महिना पनि धान्न सक्दैन”, फलपूmल व्यवसायी विकले भन्नुभयो । जिल्लामा धेरै केरा भारतबाटै आउने गरेको उहाँको भनाइ छ । चितवन, नवलपरासी, टीकापुरलगायत जिल्लाबाट केरा ल्याउने गरे पनि बाह्रै महिना नपुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button