अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरूबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ ।
आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनुहुन समेत अनुरोध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले एक सार्वजनिक सूचना प्रकाशित गरी भदौ २४ गते आन्दोलनका क्रममा यस आयोग र मातहतका कार्यालयहरू (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारीसाधनहरू (चार पाङ्ग्रे र दुई पाङ्ग्रे), टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामानहरू लुटपाट एवं चोरी भएकाले उक्त सामान बुझाउन अनुरोध गरेको हो ।
“उक्त तोडफोड र चोरीमा संलग्नहरूको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनुहुन अनुरोध छ । अन्यथा कानुनबमोजिम भइजाने ब्यहोरासमेत जानकारी गराइन्छ,” आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्