रिपोर्टर डायरी : जलिरहेको सिंहदरबारको साक्षी

काठमाडौँ । भदौ २४ गते जेनजीको आन्दोलनको दोस्रो दिन हामी सिंहदरबारभित्र रहेको रेडियो नेपालमा काम गरिरहेका थियौँ ।

भक्तपुरदेखि जडीबुटी, कोटेश्वर, बानेश्वर संसद् भवन पछाडि हुँदै सिंहदरबार पुग्दासम्म अवस्था सामान्य नै थियो । कार्यालय पुगेर रिपोर्टिङ गर्ने र समाचार बनाउने काम गरिरहेका थियौ । जति दिउँसो हुँदै गयो उती अवस्था असामान्य बन्दै गयो ।

एकैछिनमा खबर आयो जेनजीले संसद् भवन जलाए । हामी रेडियो नेपालको छतमा गयौँ संसद् भवनबाट धुवाको मुस्लो निस्किरहेको थियो । काठमाडौँका धेरै स्थानबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्थ्यो । दिउँसो साढे २ बज्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको सूचना आयो ।
त्यति बेलासम्म सिंहदरबारको चारैतिर प्रदर्शनकारीले घेरिसकेको भए पनि क्षति भने भइसकेको थिएन ।

सिंहदरबारको बाहिरपट्टि चिच्याहट, कोलाहल, केही पड्केको ठुला–ठुला आवाज प्रस्टै सुनिन्थ्यो । सिंहदरबारको आकाशमा सेनाको हेलिकप्टर घुमिरहेका थिए । सिंहदरबार छिर्ने प्रयत्नमा थिए प्रदर्शनकारीहरू । हेर्दाहेर्दै सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयबाट ठुलो आवाज सहित धुवाँको मुस्लो निस्कियो । धुवाँले टिक्नै न सकिने भयो । हामी आत्तियौ र रेडियो नेपालको प्राङ्गणमा पुग्यौँ । त्रास फैलियो । रेडियो नेपालमा उपस्थित सबै जसो कर्मचारी प्राङ्गणमा पुगिसकेका थियौ ।
सिंहदरबारको चारैतिरका गेटबाट पड्किएको आवाज आइरहेको थियो । गेटहरूमा धुवाँको मुस्लोले सिंहदरबार छोपिएको थियो ।

त्यसपछि सिंहदरबारभित्र छिरेर उनीहरूले सरकारी सवारी साधनमा आगजनी गरिरहेका थिए । यत्तिकैमा नेकपा एमाले र नेपाली काँग्रेसको दलको कार्यालयमा आगो लगाए । रेडियो नेपालको पूर्वपट्टि रहेको दलका कार्यालयमा आगो बल्न थालेपछि रेडियो नेपालको प्राङ्गणमा रहेका हामी सबैको अनुहारमा डर र त्रास भरियो । अब के गर्ने ? कसरी सुरक्षित हुने ?
प्रसारण भइरहेको रेडियोलाई निरन्तरता दिनु थियो र जोगाउनु पनि । रेडियोको पूर्वपट्टि रहेको एमाले, काँग्रेस दलका कार्यालयमा आगो दन्किरहेको थियो । म र सरिता खनाल रेडियो नेपालको मूल गेटमा पुग्दा साथी राजेन्द्र विक्रम शाही त्यहाँ हुनुहुन्थ्यो । हामी गेटमा आउने जेनजी युवाहरूलाई सम्झाउन लाग्यौँ । साना–साना समूहमा आउनेलाई त सम्झाउन सजिलै हुन्थ्यो तर ठुलो भिडलाई सम्झाउन हम्मे हम्मे पर्थ्यो । कतै ठुलो भिडले आफूलाई नै त केही गर्दैन भन्ने जस्तो पनि लाग्थ्यो ।

सिंहदरबारको सबै गेटबाट छिरेको भिड ओहो !
धुवाँले आँखा हेर्नै नसक्ने अवस्था । आगो लागेपछि पड्किएको गाडीका आवाज, चिच्याएको र तोडफोडको आवाज, कतै केही नदेखिने कहाली लाग्दो अवस्था । हामी गेटमा नै थियौ एउटा ठुलो भिड्ले सिंहदरबारको मुख्य भवनमा आगो लगायो । अर्को एक हुलले गाडी पेलेर ल्यायो र त्यसमा पनि आगो लगाए र ठुलै हुल मोडियो रेडियो नेपाल तर्फ । डर लाग्यो अब रेडियो नेपाल पनि रहन्न कि भनेर ।
त्यति बेला आफ्नो भन्दा माया रेडियोको लाग्यो । हामी सम्झाउन लाग्यौ । तर भिँडमा बुझ्ने केही युवा पनि भेटिन्थे । उनीहरूले पनि हामीलाई साथ दिन्थे र भिड फर्काउन मद्दत पनि गर्थे ।
पटक–पटक भिड हामीतर्फ आई रहन्थ्यो । म सरिता, राजेन्द्रजी र मुकुन्दजीले सम्झाउने र फर्काउने काम गरिरह्यौ । यस्तो क्रम झन्डै ३ घण्टा चल्यो ।

हाकिम छ छैन, पुलिस छ भने छोड्दैनौ । सरकारी गाडी छोड्दैनौ, बाल्ने हो भन्दै आन्दोलनकारी भन्थे र थर्काउँथे ।
हाकिम र पुलिस भित्र छन् भने बाहिर ल्याऊ, होइन भने तपाइहरूलाई पनि खतरा छ भन्दै धम्क्याउँथे पनि । समाचार प्रमुख को हो, यहाँको हाकिम को हो भनेर भीडले सोधी खोजी गरेपछि राजेन्द्रजी भीडबाट निस्किएर समाचार प्रमुख पवन प्याकुरेल, उपनिर्देशक प्रमोद दाहाल र निमित्त नायब कार्यकारी निर्देशक पुष्करराज गौतमलाई, लौ यसो यसो भन्न थालेका छन्, सरहरू सुरक्षित हुनुस्, हामी भीडलाई सम्झाउनतिर लाग्छौ भन्दै फेरि गेट तिरै फर्किनुभयो ।
त्यसका बाबजुद पनि हामी उनीहरूलाई सम्झाउन लागिरह्यौ “रेडियो नेपाल तपाईँको पनि हो । सधैँ चाहिन्छ, बरु तपाईँको प्रतिनिधि बोल्न चाहनुहुन्छ भने बोल्न सक्नुहुन्छ भन्दै तर आगजनी नगर्नुस्, यो तपाई हामी सबैको साझा सम्पत्ति हो भनिरह्यौ ।”

कुनै कुनै बेला उनीहरु कुरा माने जस्तो गर्थे तर अरू प्रदर्शनकारी भने झोक्किन्थे । केहीले त “यति धेरै क्षति त भइसक्यो अब यती के हो र ? २÷४ अर्ब त हामी हजार हजार उठाएर बनाउँछौँ सम्म पनि भन्न भ्याउँथे ।”
आन्दोलनकारीको एक हुल आएर गेट बन्द गर्न प्रयोग गरिएको तार लाइटर बालेर जलाए र गेट धकेले । हामीले छेकिरह्यौ । हामीले आगो निभाएर नै भए पनि कोसिस छोडेनौँ । सम्झाएर गेटमा नै उभिरह्यौँ ।
रेडियो नेपालमा जति थियौँ सबै कसरी उनीहरूलाई कन्भिन्स गर्ने र फर्काउने भन्नेमा थियौँ ।

उनीहरूले हातमा पेट्रोल, डन्डी लगायतका सामग्री बोकेका थिए । कतिले त सिलिन्डर समेत बोकेर हिँडेका थिए ।
जेनजी युवाको आन्दोलन सुरु भएको २३ गतेको दिन आन्दोलनमा आफ्ना १९ जना साथी गुमाएको आक्रोश पनि कतिले त हामी माथि पोखिरहेका थिए । “आफ्नो भाइ मरेको छ, साथी मरेको छ, हामी यसै छोड्दैनौ पनि भन्थे ।”
करिब सवा ६ बजेसम्म कार्यालयमा नै रहँदा रेडियो नेपालमा कुनै क्षति भएको थिएन । हामी कार्यालयबाट घर निस्कन खोज्दा साढे ६ बजिसकेको थियो । त्यति बेला सिंहदरबारको गेटमा निस्कने सबै सडकमा गाडीहरू बलिरहेको अवस्था थियो । गाडीका ब्याट्रीहरू पड्केको आवाजले कुनै युद्धमा बम वा मिसाइल पड्केको जस्तो आभास हुन्थ्यो ।
बाहिर निस्कन सक्ने अवस्था नभएपछि बाटो खोज्दै केही बेर सिंहदरबारभित्रै घुमिरह्यौ र अन्तमा तीन वटा बलिरहेको गाडीको बीचबाट नै दक्षिण गेट हुँदै निस्कन सफल भयौ ।

घर जाँदै गर्दा सडकभरी आन्दोलनकारी मात्रै थिए । सुरक्षाका लागि कुनै संयन्त्र थिएन । सडकका बीचबीचमा सवारी साधनहरूमा आगो बलिरहेको थियो । सङ्घीय संसद् भवन, सडक विभाग र केही निजी घरहरू समेत जलिरहेका थिए ।
अघिल्लो दिन २३ गते आन्दोलनका क्रममा जेनजी युवाहरूको मृत्यु भएको स्थान नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवन आसपास सबैभन्दा धेरै युवाहरू भाडा कुडा, भेटिएका सामग्रीहरू बजाउँदै उत्सव मनाए झैँ गरिरहेका थिए । भिडकै बीचमा केही युवाहरू बन्दुक समेत बोकेर हिँडिरहेका थिए । उनीहरूलाई छिचोल्दै हामी घर निस्कियौँ ।

त्यति बेलासम्म केही नभएको रेडियो नेपाल कर्मचारीहरू हिडिसकेपछि आएका केही आन्दोलनकारीहरूले ओभी भ्यानको सिसा फोड्ने, प्रशासनिक भवनको झ्यालको सिसा फुटाउने र केही कम्प्युटरमा क्षति पुर्याउन भने सफल भए ।
त्यस दिन हामी सिंहदरबार जलेको साक्षी बन्दै निरीह भएर बस्न बाँध्य भयौ ।







प्रतिक्रिया राख्नुहोस्