तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज कारागारको तनाव नियन्त्रणमा 

वीरगन्ज । वीरगन्ज कारागारको पर्खाल भत्काएर भाग्न खोज्ने कैदीबन्दीहरुलाई नेपाली सेना सहितका सुरक्षाकर्मीले पुनः कारागारभित्रै फर्काएका छन् । 

आज बिहान कैदीबन्दीहरुले कारागारको पर्खाल भत्काएर भाग्न खोजेपछि दोहोरो झडप भएको थियो । सो क्रममा ३ जना कैदीबन्दीलाई गोली लागेर गम्भीर घाइते भएको र अन्य एक जना सामान्य घाइते भएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभयो । घाइते कैदीबन्दीको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । 

गए राति करिब ११ बजेदेखि कैदीहरू कारागार भत्काएर भाग्न खोजेपछि सुरक्षा स्थिति नियन्त्रण बाहिर जान खोजेको थियो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली रातिदेखि नै कारागार वरिपरि तैनाथ रहेको र आज बिहान कैदीबन्दीले पर्खाल भत्काएपछि दोहोरो झडप भएको थियो । सो क्रममा कारागार बाहिर रहेका कैदीबन्दीका आफन्तहरूले सुरक्षाकर्मीहरूमाथि ढुंगामुढा समेत गरेका थिए । 

कारागारको सुरक्षा स्थितिलाई नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरीले सम्झाई बुझाई गरी बाहिर निस्कन लागेका कैदीबन्दीलाई पुनः भित्र लगेका थिए । अहिले कैदीबन्दीले भत्काएको कारागारको पर्खाल मर्मत भइरहेको र कारागार बाहिर उच्च सुरक्षा निगरानी अपनाइएको वीरगन्ज कारागारका प्रमुख खिमराज भुसालले बताउनुभयो । 

वीरगन्ज कारागारमा १ हजार ३ सय ६ जना कैदी बन्दी रहेका छन् ।

यसैबिच गए राति वीरगन्जको बिर्तामा रहेको बाल सुधार गृहको मुख्य गेट तोडेर भित्र रहेका १ सय ३७ जना बाल कैदीबन्दी फरार भएका छन् । सुरक्षाकर्मीको टोली सुधार गृहमा पुग्नु अगावै उनीहरू फरार भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button