तपाईँ सुन्दै हुनुहुन्छः

२२ औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो 

काठमाडौँ । व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज २२ औँ निजामती सेवा दिवश आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


निजामती सेवा दिवस–२०८२ को अवसरमा आइतबार जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा घोराहीमा सम्पन्न कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल।तस्बिर : कुलदीप न्यौपाने/रासस

निजामती सेवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । 

उपप्रधानमन्त्री सिंहले समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने बताउनुभयो ।  उहाँले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामती सेवाले सोहीअनुरूप आफूलाई समायोजन, समय अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य रहेको बताउनुभयो 

उपप्रधानमन्त्री सिंहले तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक सङ्घीयतालाई सुदृढ तुल्याउन कोशेढुंगाको रूपमा अपेक्षा गरिएको निजामती सेवासम्बन्धी विधेयक कर्मचारीहरूको माग र भावना समेट्दै राजनीतिक दलहरूको सहमतिमा सांसदबाट छिटै पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी संयन्त्र सुशासनमुखी, इमान्दार र समयको गतिसँगै हिँड्न सक्ने सक्षम बन्नु पर्ने बताउनुभयो । उहाँले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री न्यौपानेले युवाहरू रोजगारीका लागि विदेश भौँतारिने भन्दा निजामती सेवामा प्रेरित गर्ने, युवालाई सेवाप्रति आकर्षित गर्ने खालको निजामती सेवा प्रशासन बनाउन आवश्यक रहेको औँल्याउनुभयो । मन्त्री न्यौपानेले सरुवा र बढुवा प्रणालीलाई पारदर्शी र अनुमान योग्य बनाउने प्रणालीलाई विषयलाई सुनिश्चित गर्नेगरी आफूले काम अघि बढाएको बताउनुभयो ।

संघीय निजामती विधेयक संघीय संसद्को दुवै सदनबाट पारित हुने क्रममा रहेको भन्दै केही दिनभित्र विधेयक पारित हुने र प्रशासनिक सङ्घीयता कार्यान्वयनका लागि यसले सहयोग गर्ने बताउनुभयो ।

मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा विधेयक केही दिनभित्रै संघीय संसदबाट पारित हुने क्रममा रहेको भन्दै ऐन आएर कार्यान्वयनमा आउना साथ लामो समयदेखि ओझेलमा रहेको प्रशासनिक सङ्घीयता कार्यान्वयनको विषयले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नयाँ परिवेश अनुरुप नयाँ पद्धति र आचरण अङ्गीकार गर्न सकियो भने मात्रै समाजमा चाहे अनुसारको रूपान्तरण हासिल गर्न सकिने भन्दै रुपान्तरणको गतिमा समायोजित हुन अपिल गर्नुभयो । उहाँले निजामती सेवा आजसम्म आइपुग्दा आफ्नो विशिष्ट र मौलिक पहिचान सहित नागरिकका लागि सेवा प्रवाहको भरपर्दो, अविछिन्न स्थायी संयन्त्रका रुपमा आफूलाई स्थापित गरेको बताउनुभयो ।

उहाँले पछिल्लो समय आधुनिक सूचना प्रविधिको प्रयोग गर्दै मुलुकलाई क्रमशः डिजिटलाइजेशनमा प्रवेश गराउन निजामती सेवाको भूमिका महत्वपूर्ण रहेको भन्दै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्ने आफ्नो कर्तव्य र जिम्मेवारीसहित उच्च मनोबलका साथ सकारात्मक सोच राखी अघि बढ्न सबै कर्मचारीहरूलाई आग्रह समेत गर्नुभयो । 

दिवसका अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनी मार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको थियो । नेपालमा पहिलो पटक वि.स २०१३ भदौ २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button