सल्यानको सिरुवालीमा २९ लाखको लागतमा ४८ घरधुरीलाई धारा जडानदीपक शर्मा
वर्षौंदेखिको खानेपानी समस्या समाधान

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका–५ सिरुवालीमा २९ लाखभन्दा बढी लागतमा एक घर एक धारा खानेपानी तथा सरसफाई योजना अन्तर्गत ४८ घरधुरीमा धारा जडान गरिएको छ ।
तामाधारा खानेपानी तथा सरसफाई योजनामार्फत वषौँदेखि खानेपानीको समस्या भोग्दै आइरहेको स्थानीयहरूलाई घर घरमा पानी आएसँगै समस्याबाट छुटकारा दिलाएको छ ।
बस्तीदेखि तीन किलोमिटर टाढा ढोरेनीको मूलबाट पानी ल्याइएर ४८ घरधुरीमा शुद्ध पानी वितरण गरिएको वडा नं ५ का वडाध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिनुभयो । आँगनमै पानीको धारा झरेपछि सिरुवाली निवासी ७८ वर्षीया खिमी रावतले विगतमा धेरै दुःख भोग्नुपरेको भन्दै अब सबैलाई सुविधा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीकै लागि दिन रात भनिएन, छरछिमेकमा झगडा भएनकी तर धेरै वर्षपछि घर घरमा खानेपानी आएपछि निकै खुसी लागेको छ ।”
६७ वर्षीय ईश्वरी प्रसाद रावतले गाउँपालिकाबाट योजना परेपछि आफूहरूले पनि २३–२३ दिन श्रमदान गरेर नगद ४५ सय रुपैयाँ समेत उठाएर योजना सम्पन्न गरेको बताउनुभयो ।
उपभोक्ताहरूबाट श्रमदान बापत ५ लाख ५२ हजार ५३४, नगद १ लाख ९२ हजार तथा गाउँपालिका र सुस्वा परियोजनाबाट २६ लाख ६० हजार ५४१ रुपैयाँ अनुदान गरेर कुल २९ लाख ८ हजार ७५ रुपैयाँ लागतमा इनलाइन क्लोरिनेशन प्रणाली जडान गरिएको खानेपानी योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । जस अनुसार ६४४ मिटर मेनलाईन र ५२३५ मिटर शाखा लानमा पाइप विस्तार गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्