तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चल सहित तराई मधेशमा अनन्त पूजा सम्पन्न

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशी तिथिका दिन मनाइने अनन्त पूजा मनाइएको छ । भगवान् विष्णुको प्रतीक अनन्तको विधिपूर्वक पूजा गरि घरका हरेक सदस्यले हातको पाखुरामा बाँध्ने चलन रहेको छ । पुरुषले दाहिने पाखुरा तथा महिलाले बायाँ पाखुरामा अनन्त धारण गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।  

oplus_2

भगवान् विष्णुको १४ नामको १४ वटा गाँठ दिएर धागोले बनाइएको अनन्त विधिपूर्वक पूजापछि धारण गरेको खण्डमा सुख शान्ति तथा समृद्धि आउने जनविश्वास रहेको छ । रातो पहेलो, हरियो रङ्गको सो अनन्त कतिपय व्यक्तिले वर्ष भरि नै हातमा राख्ने गरेका छन् ।

पण्डित पुरोहितको पूजा गर्ने स्थलमा प्रसाद सहित धागोले बनाइएको अनन्त पूजाका लागि लगिन्छ र पूजा तथा कथा सुनेपछि अनन्त र प्रसाद सहित घर फर्किएर हरेक सदस्यहरुले धारण गर्ने चलन रहेको छ । सत्य युगमा अमृतको खोजी गर्नका लागि समुद्र मन्थनको क्रममा अमृत सहित १४ रत्न फेला परेको दिनदेखि अनन्त पूजा गर्ने प्रचलन शुरु भएको धार्मिक मान्यता रहेको छ ।

१४ वटा रत्नको प्रतीकका रूपमा १४ वटा धागोले बनाइएको अनन्त सुख तथा समृद्धिको प्रतीकको रुपमा मानिन्छ । धार्मिक मान्यता अनुसार पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनवास गएको बेलामा भगवान् श्रीकृष्णको आज्ञा अनुसार धर्मराज युधिष्ठिरले आफ्ना भाइहरू तथा द्रौपदीसँगै विधिपूर्वक अनन्त पूजा गरेको र त्यसपछि सो मन्त्रिएको सूत्र धारण गरेको जनविश्वास रहेको छ ।

यता अर्को मान्यता अनुसार अनन्त चतुर्दशी व्रतकै कारणले पाण्डवको अज्ञात वास तथा अन्य कष्टकर जीवनबाट मुक्ति पाएर सफल भएका थिए । आजको दिन जनकपुरधामको राम मन्दिर, जानकी मन्दिर सहित पण्डितहरूको घरमा अनन्त पूजा गराउने श्रद्धालुहरूको भिड रहने गरेको छ ।

जनकपुरधामको वडा नंं ८ वाल्मीकि नगरमा पुर्खा देखि नै टोलवासीको अनन्त पूजाको निरन्तरता दिने काम पण्डित इन्जिनियर घनश्याम मिश्रले दिनु भएको छ । टोलका कैयौँ दर्जन घरपरिवारबाट अनन्त पूजाका लागि भक्तजनहरू घरमा आउने गरेको जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button