पीएसबीको पहिलो परिषद् बैठक सम्पन्न
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्था नेपाल–पीएसबीको पहिलो परिषद् बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित नेपाल टेलिभिजनको केन्द्रीय कार्यालयमा बसेको बैठकमा परिषद्का सदस्य सचिव एवं कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको रूपान्तरणपछि बनेको सार्वजनिक सेवा प्रसारण संस्थामा भएका नीतिगत तथा व्यवस्थापकीय कार्य प्रगतिका विवरण प्रस्तुत गर्नुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं परिषद्का अध्यक्ष पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एक भई बनेको पीएसबीमा विभिन्न सुधारका कामहरू भएकोमा धन्यवाद दिनुहुँदै संस्थालाई थप जनमुखी बनाउन एवं ऐनमा निर्दिष्ट उद्देश्य हासिल गर्न अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सञ्चार सचिव राधिका अर्याल र नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा परिषद्को सदस्यको रुपमा सहभागी हुनु हुन्थ्यो ।

बैठकले परिषद्लाई छिट्टै पूर्णता दिने विषयमा पनि छलफल गरेको छ । सार्वजनिक सेवा प्रसारण ऐनले नीति निर्माण गर्न तथा संस्थाले गर्नुपर्ने कार्यको नीतिगत निर्देशन दिन सूचना तथा सञ्चारमन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय परिषद् रहने व्यवस्था गरेको छ । परिषद्को बैठकपछि मन्त्री गुरुङले सञ्चालनको अन्तिम तयारीमा रहेको एनटीभी वर्ल्डको निर्माणाधीन स्टुडियो लगायतका संरचनाको अवलोकन गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्