मुगुमा तीन दिनदेखि हवाई सेवा अवरुद्ध, यात्रु अलपत्र

मुगु । मुगु जिल्लामा अविरल वर्षा र खराब मौसमका कारण विगत तीन दिनदेखि हवाई सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। रारा विमानस्थल, ताल्चामा उडान रोकिएपछि जिल्लामा आउजाउ गर्ने यात्रुहरू अलपत्र परेका छन्।
सदरमुकाम गमगढी र आसपासका गाउँबाट विमानस्थल पुगेका यात्रुहरू लगातार प्रतीक्षा गरिरहेका छन् र निराश भएर फर्किन बाध्य भएका छन्। स्वास्थ्य उपचार, आकस्मिक काम वा अन्य कारणले यात्रा गर्न चाहेका यात्रुहरूको समस्या गहिरिँदै गएको छ।

रारा विमानस्थलका प्रमुख रामेल बरियाले भन्नुभयाे, “अविरल वर्षाका कारण आकाशमा घना हुस्सु र कुहिरो भएकोले जहाज उड्न सकेको छैन।” उहाँले थपे, “जिल्ला बाहिर जाने यात्रुको चाप यथावत् छ, सम्भवतः बुधबारदेखि उडान फेरि सुरु हुन सक्छ।”
भदौ महिनामा बढी वर्षा हुने भएकाले सडक मार्ग जोखिमपूर्ण हुने हुँदा यात्रुहरू प्रायः महँगो भए पनि हवाई यातायात रोज्ने गरेका छन्। कर्णाली राजमार्ग अन्तर्गत गमगढी–सुर्खेत सडक खण्डमा पहिरो, अवरोध र दुर्घटनाको उच्च जोखिम रहेको छ।
मौसममा सुधार आउँदा समिट, तारा र सीता एयरले नियमित उडान सुरु गर्ने तयारी गरिरहेको छ।
प्रतिक्रिया राख्नुहोस्