नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य हुलाक सेवा सम्झौता गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रुपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनुभएको छ ।
हुलाक सेवा विभागले वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा संवोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिनुभएको हो । उहाँका अनुसार हुलाकको पछिल्लो व्यावसायिक सम्भावना पार्सल डेलिभरी रहेको विदेशमा भएका नेपालीको पहुँच सम्म विस्तार बढाउन श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवाको विस्तार गर्न आवश्यक हुने बताउनुभयो । मन्त्री गुरुङले पार्सले सेवालाई भरपर्दो, व्यापक र विश्वसनीय बनाउन पनि आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा हुलाक सेवा विभाग अन्तर्गतका विभिन्न जिल्ला हुलाक कार्यालय प्रमुखहरूको उपलब्धी, प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो । जसमा मन्त्री गुरुङले सबै पालिकालाई डिजीटलाईजेन गर्न र स्मार्ट हुलाक कार्यालय सञ्चालन सुरु गर्न निर्देशन समेत दिनुभयो । “स्मार्ट हुलाक कार्यालय सञ्चालनको लागि जति सक्दो छिटो मापदण्ड बनाउनुहोस्”, उहाँले भन्नुभयो,“अब हुलाक स्मार्ट हुनुपर्छ, सूचना प्रविधिसँगै रूपान्तरण हुनु जरुरी छ ।”
मन्त्री गुरुङले हुलाक सेवा जनताको प्रत्यक्ष हित सँग घर दैलोमा पुग्ने अति आवश्यक सेवा निकाय भएकाले यसका लागि आवश्यक पर्ने सम्पुर्ण पूर्वाधार व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । त्यसै सन्दर्भमा हुलाक चिठ्ठी ओसार पसार गर्न सवारी साधनको व्यवस्थापन गर्ने, पालिकामा एक हुलाक एक मोटर साइकलको व्यवस्था गर्ने, हुलाक कार्यालय भवन निर्माण गर्ने लगायतका कार्यमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले विगतमा हुलाकको गौरवपूर्ण खासलाई आत्मसाथ गर्दै आधुनिक युगको हुलाक कार्यालय बनाउन ऐन कानुन परिमार्जन गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले कर्मचारीहरूलाई हुलाक सेवा स्मार्ट बनाउने विषयमा रचनात्मक कार्ययोजना बनाउन आग्रह गर्नुभयो । कामका दौरामा आउने समस्याको समाधान गर्न आफु तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले स्मार्ट हुलाक नीति बनाउने तयारीमा रहेको जानकारी गराउँदै आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्थापन गर्न मन्त्री समक्ष ध्यानाकर्षण गराउनुभएको थियो । विभागका निर्देशक धुव्रराज आचार्यले विभागको वार्षिक प्रगति समीक्षा प्रस्तुत गर्नुभयो । जसका निष्कर्षमा हुलाक सेवा घर दैलो पुर्याउन कार्यालयमा सवारी साधनको अभावले थुप्रै चुनौती खेप्नु परेको समस्या खुलाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्