तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटा जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न

धनकुटा । धनकुटामा सङ्घ प्रदेश र स्थानीयको तहको सहकार्यमा योजना सम्पन्न नहुँदा बजेट फ्रिज हुने पाइएको छ । 

जिल्ला स्तरीय स्थानीय तहको अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी तीनै तहको सहकार्यमा काम नहुँदा कार्य सम्पन्न नभई बजेट फ्रिज हुने गरेको पाइएको हो । बजेट फ्रिज हुँदा जनता निराश बन्नुपर्ने तथा धनकुटा विकासमा पछि पर्ने अवस्था आएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो । 

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सङ्घ तथा प्रदेश सरकारले बजेट पठाउने तथा जिल्ला रहेको कार्यालयले काम नगर्दा बजेट फ्रिज हुने गरेको बताउनुभयो । यसरी आफ्नै कारणले बजेट फ्रिज हुने समस्याले हरेक वर्ष सताउने गरेको उहाँको भनाइ थियो । 

कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को समग्र समीक्षा र स्थानीय तहको असल अभ्यास आदानप्रदान सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको समीक्षा कार्यक्रममा धनकुटामा रहेका ७ वटै स्थानीय तह, प्रदेश र सङ्घ सरकार मातहतका विषयगत कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका योजनाका समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिवेदनमा कार्यालयहरूले गरेका काम, काम गर्दा देखा परेका समस्या, त्यसलाई सहज बनाउने विषय, बेरुजु समस्या, बजेट फ्रिज हुने समस्या र समाधानको विषयमा छलफल भएको थियो । कार्यक्रममा जिल्लाको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरूमा भएका उपलब्धि र चुनौतीहरूको समीक्षा भएको छ । कार्यक्रमले जिल्लाको समग्र विकासको अवस्था बुझ्न र आगामी योजनाहरू तय गर्न मद्दत पुगेको जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले जानकारी दिनुभयो ।

सो अवसरमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामा प्रथम हुने चौबिसे गाउँपालिका, दोस्रो हुने सहिद भूमि गाउँपालिका र तेस्रो हुने पाख्रिबास नगरपालिकालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button