तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा दोस्रो नेपाल खुला स्नुकर प्रतियोगिता सुरु, देशभरबाट १३६ जना खेलाडी सहभागी हुँदै 

पोखरा । पर्यटनको राजधानी पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नुकर प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नुकर तथा पुल सङ्घको विशेष सहयोगमा पुनः दोस्रो पटक उक्त प्रतियोगिता पोखरामा मङ्गलवार देखि सुरु भएको हो । 

भदौ २८ गतेसम्म पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै यस बर्ष देखि महानगर प्रबद्र्धकका रुपमा रहेको जनाउनु भयो । पर्यटनको राजधानी पोखरामा हरेक दिन जसो विभिन्न खेलकुद प्रतियोगिता जारी रहेको उहाँले उल्लेख गर्नुभयो । 

पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताउनु भयो । बक्सिङका पदकधारी खेलाडी गणेश बहादुर भट्टराईले पोखरा क्षेत्रमा हुने खेलकुदका गतिविधिलाई पोखरा महानगरले आवश्यक सहयोग गर्न सुझाव दिनुभयो । नेपाल विलिडियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सरोज कुमार मुल्मीले उक्त प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै दशौं राष्ट्रिय खेलकुदमा यस खेललाई समावेश गर्न पहल गरेको उल्लेख गर्नुभयो । 

प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागी भएको संस्थाका अध्यक्ष सोम बि.क.ले बताउनु भयो । प्रतियोगिताका विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा दोस्रो हुनेलाई ८० हजार प्रदान गरिने भएको छ भने सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई जनही २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगितामा पुरस्कार राशि ३ लाख ५९ हजार ७ सय २ रहेको आयोजकले जनाएको छ । 

यसअघि २०८० सालमा पहिलो संस्करण भव्यतापूर्वक सम्पन्न भएपश्चात् दोस्रो संस्करण पोखरामा भएको हो । गत संस्करणका विजेता इटहरीका आयुष गौतम हुनुहुन्थ्यो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अध्यक्ष बि.क.ले जनाउनु भयो । 

प्रतियोगिताले पोखरा क्षेत्रको स्नुकर खेलको स्तरवृद्धि, पर्यटन प्रवद्र्धन र खेलकुद संस्कृतिको विकासमा योगदान पुग्ने फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले विश्वास व्यक्त गर्नुभयो । साथै, पोखरालाई खेलकुद र पर्यटनको शहरको रुपमा स्थापित गर्न पनि यसले सहयोग गर्ने उहाँको भनाइ थियो । प्रालिका सञ्चालक प्रताप गुरुङले पनि यस प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button