तीन दिनदेखि कर्णाली राजमार्ग अबरुद्वः स्याउ बोकेका करिब दुई दर्जन ट्रक बाटोमै अलपत्र
जुम्ला । तीन दिनदेखि कर्णाली राजमार्गको गगने खोला खण्ड पूर्ण रुपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन् ।
सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै रोकिएका छन् । तीनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौँ रुपैयाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ । विगतको तुलनामा यश वर्ष ढिला ग्लुकोजको मात्र भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्बाध रुपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरू बताउँछन् ।

सिमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेकर्ड अनुसार भदौ १४ गतेदेखि १६ गते बिहान सम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् । नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते अर्थात् (आज) १ वटा गरि जम्मा २० वटा ट्रकले स्याउ बोकेर गएको जानकारी दिनुभयो
भदौ १४ देखि १६ गते (आज) सम्म स्याउ बोकेका २० ट्रक रोकिएका छन् । २० वटा ट्रकमै झण्डै सात सय ९ क्वीईन्टल स्याउ निर्यात भएको छ । न्यूनतम १२ क्वीईन्टल देखि अधिकतम् ४० क्वीईन्टलसम्म स्याउ व्यापारीले विक्रीका लागि लिएको पाइएको छ ।
लगातार तीन दिन देखि बाटोमै स्याउ थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो,‘स्याउ निर्यातकै सिजनमा वर्षात हुने,बाढी पहिरो आउने र बाटो अवरुद्ध हुने समस्या छ । करोडौँको स्याउ बोकेका गाडी अलपत्र पर्ने गरेका छन् । तर अवरुद्ध खुलाउने तयारी सुस्त छ । ठुला ठुला ढुङ्गा ब्रेकरले फुटाउन सकेको छैन । अब ब्लाष्टिङ गर्ने भन्ने छ । कहिले सडक खुल्ने हो पत्तो छैन ।’
त्यस्तै, अर्का स्याउ व्यापारी काली बहादुर रोकायाले सडक अवरुद्ध भएपछि जुम्लाका किसान र व्यापारीले गत वर्षजस्तै सास्ती पाएको बताउनुभयो । उहाँले ४ हजार किलो स्याउ विक्रीका लागि लिएका छन् । सडक खुल्ने स्थिति नरहेपछि कुहिने चिन्ताले सताएको छ ।
जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउ निर्यात गरेर आउने आम्दानी हो । स्याउ निर्यातको समयमा तिन दिनसम्म सडक अवरुद्ध भएको र खुल्ने समय निश्चित नहुँदा बाटोमा अलपत्र परेको मात्र नभई बोटकै स्याउ पनि कुहिने अवस्था आएको छ । प्रहरीको रेकर्ड अनुसार २० ट्रक अलपत्र परेका छन् । एउटा ट्रकमा कम्तीमा पनि पाँच सय स्याउका कार्टुन लोड गरिएका छन् । तीन दिनदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएपछि करोडौँको स्याउ अलपत्र परेका हुन् ।

सडक अवरुद्ध हुँदा ठुला मालवाहक सवारीसँगै अन्य यात्रु बाहक सवारी पनि सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्याउन नसके करोडौँको क्षति जुम्लाले व्यहोर्नुपर्ने जुम्लाका देउराम नेपालीले बताउनुभयो ।
यस्तै, सडक लगातार तिन दिनसम्म सडक अवरुद्ध भएपछि कर्णाली राजमार्ग अन्तर्गत गगने खोलाको अवरुद्ध हटाउन ब्लाष्टिङ गर्ने तयारी भइरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनुभयो । उहाँले ब्रेकर लगाएर ढुङ्गा फुटाउने प्रयास गरेको बताउनुभयो । दुई दिन सम्मको प्रयास सम्भव भएन नभएपछि अब ब्लाष्टिङ नगरी सडक खुल्ने स्थिति नरहेको बताउँदै उहाँले अब कालिकोट प्रहरी प्रशासन र सेना सँग समन्वय गरि ब्लाष्टिङ गर्ने तयारी भएको बताउनुभयो ।
गगने खोलामा ठुला ठुला ढुङ्गा खसेको र सडकको नाम निसानानै नरहेकाले ब्लाष्टिङ मात्रै अन्तिम विकल्प रहेको उहाँको भनाई छ । सेनाद्वारा ढुङ्गा ब्लाष्टिङ गरेर आजै सडक खुलाउने प्रयासमा रहेको समेत डिभिजन प्रमुख चौधरीले जानकारी दिनुभयो । ब्लाष्टीङ गरेर सडक खुलाउने तयारी गरिएपनि निरन्तर वर्षा भएपछि पहिरो पन्छाउन सकस भएको हो ।
गगने खोला अवरुद्ध खुलेपनि कर्णाली राजमार्गमा जोखिम कायमै रहेको छ । भौगोलिक रुपमा भिरालो क्षेत्र र स्थानीयतहले जथाभाबी निर्माण गरेको पहुँच सडकका कारणले गर्दा वर्षात हुने बित्तिकै कर्णाली राजमार्गमा पहिरोको उच्च जोखिम रहेको छ । गत वर्षपनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्ध भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेका थिए ।
प्रतिक्रिया राख्नुहोस्