तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा सामुदायिक विद्यालयमा शिक्षक डायरी लागू

बाँके।शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बाँकेको नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।

शिक्षक डायरीले शिक्षकको दैनिक, त्रैमासिक तथा वार्षिक योजना र सम्पन्न कार्यको अभिलेख तयार गर्न सहयोग गर्ने उद्देश्य राखेको छ। डायरीमा आवश्यक तथ्य र पाठ्यक्रमसँग सम्बन्धित प्रारुपहरू समावेश गरिएको छ।

शिक्षा शाखा प्रमुख कृष्ण चौधरीका अनुसार, “शिक्षकले वर्षभरि अध्यापन गर्ने विषयवस्तुको योजना बनाई समयमै सम्पन्न गर्न शिक्षक डायरीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।” शिक्षा शाखा अधिकृत कमल केसीले भने, “नियमित प्रयोगले शिक्षकमा शैक्षिक सूचनाको खोज गर्ने बानी विकास हुन्छ, योजना तयार गर्न र शिक्षण विधि छनोट गर्न सजिलो हुन्छ।”

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले डायरीले शिक्षकको क्षमता र विद्यार्थीको पढाइप्रतिको मोह बढाउने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार, डायरीमा विद्यालयको प्रशासनिक विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, पाठ्यक्रम संरचना, मूल्याङ्कन प्रक्रिया, विद्यार्थीको व्यक्तिगत विवरण र अतिरिक्त गतिविधि विवरण राख्ने व्यवस्था गरिएको छ।

यस पहलले विद्यालयमा गुणस्तरीय पठन–पाठन र शिक्षकको पेशागत विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button