मुगुमा परम्परागत फर्सी खेती हराउँदै
मुगु।मुगु जिल्लामा परम्परागत रूपमा लगाइने रैथाने तरकारी बाली फर्सी खेती दिनप्रतिदिन हराउँदै गएको छ। पहिले हरेक गाउँघरमा आँगन, खोर–गोठको छाना, बारी र पाखामा देखिने फर्सीका बोट अहिले विरलै देखिन्छन्।
स्थानीयवासीका अनुसार फर्सी केवल तरकारी नभई जीवनशैलीसँग जोडिएको बाली थियो। चाडपर्व र भोजमा फर्सीबाट बनाइने राईतो, साग, अचार र सुखाएर खाने चलन सामान्य थियो। पहिले धेरै फर्सी भएको घर धनी मानिन्थ्यो। तर अहिले बजारमा सजिलै पाइने बाहिरी तरकारी, प्याकेटबन्द खानेकुरा र श्रमशक्तिको कमीका कारण फर्सी खेतीमा चासो घटेको छ।
युवा पुस्ता रोजगारीका लागि बाहिरिने र महिलामात्र घरगृहस्थीमा सीमित हुने भएकाले खेती झन् कमजोर भएको किसानहरूको गुनासो छ। यससँगै मौलिक बीउ–बिजन पनि संकटमा परेको छ। कृषि प्राविधिकहरूले संरक्षणका लागि तत्काल पहल नभए एक–दुई दशकमै मुगुका स्थानीय जातका फर्सी पूर्ण रूपमा हराउने चेतावनी दिएका छन्।
स्थानीयहरूले सम्बन्धित निकायले मौलिक बाली संरक्षणमा खासै ध्यान नदिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार हाइब्रिड बीउको बढी वितरणले उत्पादन छिटो भए पनि रैथाने बाली हराउँदै गएका छन्।
बुद्धिजीवीहरूका भनाइमा, फर्सी खेती हराउँदा केवल कृषि मात्र होइन, सांस्कृतिक मूल्य र गाउँको सामाजिक जीवनशैली पनि कमजोर बन्दै गएको छ। उनीहरूले मौलिकता जोगाउन स्थानीय तह, किसान र राज्य निकायबीच सहकार्य गरेर तत्काल संरक्षण पहल गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया राख्नुहोस्