बाराको कलैयामा पनि हैजा सङ्क्रमण पुष्टि
वीरगञ्ज। वीरगन्ज सँगै पर्साको पोखरिया नगरपालिका र बाराको कलैया उपमहानगरपालिकामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

पोखरिया अस्पतालमा झाडापखाला पछी उपचारको लागी भर्ना भएका १३ जनामध्ये ७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
मङ्गलवार ३ जनामा सङ्क्रमण देखिएको थियो भने बुधवार थप ४ जनामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो ।
हाल १२ जना पोखरिया अस्पतालको जनरल वार्डमा उपचाररत छन् भने एक जनालाई थप उपचारका लागि वीरगञ्ज ल्याइएको छ । सङ्क्रमितमध्ये अधिकांश वीरगञ्जमा बसोबास गर्ने रहेको अस्पतालले जनाएको छ ।
यसैगरी, बाराको कलैया नगरपालिका वडानम्बर–१८, पचौराका ५५ वर्षीय एक पुरुषमा बुधवार हैजा सङ्क्रमण पुष्टि भएको छ । उनी वीरगञ्जमा काम गर्ने क्रममा सङ्क्रमित भएको हुन सक्ने अनुमान छ ।
आइतबार झाडापखालाको लक्षण देखिएपछि उनी कलैया अस्पतालमा भर्ना भएका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार, सङ्क्रमितको गाउँमा स्वास्थ्यकर्मीको टोलीले निगरानी र जनचेतना अभियान सञ्चालन गरेको छ ।
वीरगञ्जसँग सीमा जोडिएका बाराका विश्रामपुर, प्रसौनी, परवानीपुर र फेटा गाउँपालिकामा पनि निगरानी बढाइएको छ । यादवले एक जनामा सङ्क्रमण पुष्टि हुँदैमा आत्तिनु नपर्ने तर सतर्कता आवश्यक रहेको बताउनुभयो ।
वीरगञ्जमा सङ्क्रमण क्रमशः नियन्त्रणमा
वीरगञ्ज महानगरपालिकामा हैजाको सङ्क्रमण क्रमशः घट्दै गएको छ । गत शुक्रवारदेखि बुधवार साँझसम्म १३२ जनामा हैजा पुष्टि भएकोमा पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ । आइतबार २९, सोमबार र मङ्गलवार २१÷२१, र बुधवार राति ८ बजेसम्म १८ जनामा मात्र सङ्क्रमण देखिएको छ । यद्यपि, झाडापखालाका बिरामीको सङ्ख्या स्थिर नरहेको र बुधवार १०६ जना नयाँ बिरामी भर्ना भएको स्वास्थ्य शाखाले जनाएको छ ।

कुल ५२८ जना झाडापखालाबाट प्रभावित भएकामा २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्, ३५ जना आइसियुमा र ४ जना एचडीयुमा छन् । २५७ जना भने निको भएर घर फर्किसकेका छन् ।
हैजा र झाडापखालाको प्रमुख कारण दूषित पानी र खाद्य पदार्थ रहेको विशेषज्ञहरूले बताएका छन् । वीरगञ्ज महानगरपालिकाले सङ्क्रमण नियन्त्रणका लागि विद्यालय बन्द, सडकमा बिक्री हुने पानीपुरी र चाटमा प्रतिबन्ध, र टोल–टोलमा जनचेतना अभियान सञ्चालन गरेको छ ।
खानेपानीको स्रोतको क्लोरिनेसन र ट्याङ्की सरसफाइलाई तीव्र पारिएको छ । स्वास्थ्य विशेषज्ञहरूले दीर्घकालीन स्वच्छता रणनीति आवश्यक रहेको बताएका छन् । स्थानीयवासीलाई स्वच्छ पानीको प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन महानगरले अपिल गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्