संस्कृति मन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रमा तीज मेलाको अवलोकन
काठमाडौँ । तीज पर्वका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्रको अवलोकन गर्नुभएको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहनुभएका मन्त्री पाण्डेले पशुपतिनाथ मन्दिरमा दर्शन व्यवस्था, भक्तजनका समस्याका बारेमा जानकारी लिनुभएको हो । उहाँले लाममा बसेका व्रतालु भक्तजनसँग पनि कुराकानी गर्नुभएको थियो । लाममा बसेका महिला व्रतालुले आधा घण्टासम्म लाममा बसेपछि दर्शन गर्न पाइएको प्रतिक्रिया दिएका थिए ।
पशुपतिनाथको मूल मन्दिरको पश्चिम ढोका अघि यस वर्षको तीजदेखि कोषले जलवाष्पीकरण गरी भक्तजनलाई शीतलता प्रदान गरेको छ । त्यसको पनि मन्त्री पाण्डेले अवलोकन गर्नुभएको थियो । अवलोकनपछि उहाँले यसैगरी भक्तजनलाई सहज हुने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो ।
तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खोलिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्