तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख देवकोटाद्वारा हरितालिका तीजको शुभकामना,पर्वले एकता र सद्भाव बढाउने विश्वास

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विशेष गरी हिन्दु महिलाहरूले मनाउने पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सनातन वैदिक संस्कृतिमा नारी शक्तिको सम्मान र प्रकृतिको संरक्षणका लागि विशेष महत्त्व राख्ने यो पर्वले एकताबद्ध भई अगाडि बढ्न प्रेरणा दिने उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश प्रकाशन गर्नु भएको हो । पौराणिक कथाअनुसार, माता पार्वतीले महादेवलाई पतिको रूपमा पाउनका लागि कठोर तपस्या तथा निराहार व्रत बसेर त्याग गरेको कथासँग तीज पर्वको इतिहास जोडिएको छ । हिमालय पर्वतमा घोर तपस्या गरेको र उहाँको यही त्याग र समर्पणबाट खुसी भएर महादेवले उहाँलाई पत्नीका रूपमा स्वीकार गर्नुभएको धार्मिक विश्वास छ ।

पौराणिक कथाअनुसार माता पार्वतीको यही कठोर तपस्याको सम्मान स्वरूप हरितालिका तीज मनाउने गरिन्छ । यो पर्वले भगवान् शिव र पार्वतीको अटुट प्रेम र समर्पणको गाथालाई स्मरण गराउँदै नारी जीवनमा पतिको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्ने महत्त्वपूर्ण पर्वका रूपमा स्थापित छ।

‘तीजले पारिवारिक तथा सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउनुका साथै मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न मद्दत पुर्‍याउँछ’ उहाँले सन्देशमा भन्नुभएको छ । यस पर्वमा चेलीहरूले जन्म घर गएर आफ्ना दुःखसुख साट्ने, नाचगान गर्ने र मिठो परिकार खाने प्रचलन छ । जसले दिदीबहिनीहरूमा आपसी प्रेम र आत्मीयता बढाउनेमा प्रदेश प्रमुख देवकोटाले विश्वास व्यक्त गर्नु भएको छ । पछिल्ला समय देखा परेका भड्किलो देखासिकीबाट पर रहेर पर्वको गौरव र मर्यादालाई कायम राख्दै तीज पर्व मनाउन उहाँले सबैमा अनुरोध समेत गर्नुभएको छ ।

मुलुकको समृद्धि, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नका लागि यस्ता चाडपर्वहरूको ठुलो भूमिका हुने बताउँदै पर्वले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाएर समानता र न्यायमा आधारित समाज निर्माण गर्न सबैलाई प्रोत्साहन गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button