तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाल प्रहरी महिला सशक्तीकरणको नयाँ यात्रामा छ’

सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापाले नेपाल प्रहरी लैङ्गिक समावेशीकरणसँगै महिला सशक्तीकरणको नयाँ यात्रामा रहेको बताउनुभएको छ । 

आज पूर्वी सुर्खेतको छिन्चुस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक थापाले लैङ्गिक सम्वेदनशीलतालाई आत्मसात् गर्दै नेपाल प्रहरीले प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नयाँ भवनबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकता दिँदै प्रभावकारी सेवा प्रवाह गर्न समेत मातहतका प्रहरी कर्मचारी निर्देशन दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले इलाका प्रहरी कार्यालय छिन्चुमा एक कोठाबाट मात्रै सेवा दिइएकोमा अब आफ्नै भवन हुँदा सेवा प्रवाह थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन बनेसँगै अब सेवा लिन भएका नागरिकलाई बास बस्न समेत सहज हुनेछ । दुई तले नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवनमा मिटिङ हलसहित ११ वटा कोठा रहेका छन् । फर्निचरसहित ३ करोड ३५ लाख २७ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । 

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक लालमणि आचार्य, कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) माधवप्रसाद श्रेष्ठ, जनप्रतिनिधि एवं यूएनओपीएस कर्णाली प्रदेश संयोजक सृजना कार्की लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button