तपाईँ सुन्दै हुनुहुन्छः

हैजा संक्रमण अपडेट: वीरगंजमा ७१ जनामा हैजा पुष्टि, २५४ जनाको उपचार जारी

वीरगंज। वीरगंज महानगरपालिका क्षेत्रमा झाडा पखाला र बान्ता भई अस्पतालमा भर्ना भएका २ सय ५४ जना बिरामी मध्ये आज सोमबार बिहान सम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांकअनुसार, आइतबार ४२ जनामा पुष्टि भएको सङ्क्रमण सोमबार बिहान सम्म थप २९ जना बिरामी थपिएका छन् ।

वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, सङ्क्रमितहरू वडा नम्ब-३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन् ।

सङ्क्रमितहरू विभिन्न अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगञ्ज हेल्थ केयर हस्पिटलमा २ जना, अलि हस्पिटलमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जनामा हैजाको संक्रमण देखिएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो । 

यस्तै, झाडापखाला र शङ्कास्पद हैजाका गरी २ सय ५४ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन् । हैजाका बिरामी मध्ये गम्भिर अवस्थामा रहेका २२ जनालाई आइसियुमा र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले केही बिरामीहरू उपचारपछि स्वस्थ भई घर फर्किएको जानकारी दिनुभयो । उहाँले आत्तिनुपर्ने अवस्था नरहेको र सफा खानेपानी, व्यक्तिगत सरसफाइ र स्वास्थ्य सतर्कता अपनाएर हैजाको जोखिमबाट बच्न सकिने बताउनुभयो । 

हैजा नियन्त्रण र रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूले संयुक्त प्रयास गरिरहेका छन् । वीरगञ्ज महानगरपालिकाले विशेष स्वास्थ्यकर्मीको टोली परिचालन गरी सङ्क्रमण फैलिन नदिन सक्रियता देखाएको छ । यस्तै, जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले नारायणी अस्पतालसहित अन्य अस्पतालहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक स्वास्थ्य सामग्री आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ ।

महामारी नियन्त्रणका लागि स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूले समन्वयात्मक ढङ्गले काम गरिरहेको र नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button