‘सामाजिक सञ्जालको दुरुपयोगलाई नियमन गर्न विधेयक ल्याइएको हो’
काठमाडाैं । राष्ट्रिय सभाको आजको बैठकले सामाजिक सञ्जाल विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको दुरुपयोगलाई नियमन गर्न विधेयक ल्याइएको बताउनुभयो ।
सञ्चार मन्त्री गुरुङले साइवर क्राइम जस्ता विभिन्न स्वरूपका डिजिटल अपराधहरूलाई कानुनी दायरामा ल्याउन र सुशासनलाई सुदृढ पार्न पनि सामाजिक सञ्जाल विधेयकको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
यस्तै राष्ट्रिय सभाको आजको बैठकमा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस भएका छन् ।
बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस भएको हो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ सभासमक्ष पेस गर्नुभएको थियो ।
प्रतिवेदन पेस गर्नुहुँदै सभापति दाहालले विधेयकले मूलतः संविधानमा व्यवस्था भएबमोजिम बाबुको पहिचान नभएकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने उद्देश्य लिएको बताउनुभयो ।
यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गर्नुभएको थियो ।
सभापति शर्माले प्रतिवेदनले विकास र संरक्षणका क्षेत्रमा देखिएका फरक धारणालाई साँघुरो पारी संरक्षणसहितको विकासलाई अघि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ ६ गते शुक्रवार दिनको १२ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्