राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले विपद्का कारण मुलुकका विभिन्न स्थानमा पुगेको क्षतिका विषयमा जानकारी गराउँदै पूर्व तयारी, उद्धार एवं राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरूले बाढी तथा पहिरोले सडक संरचना अवरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको, मलको अभावका कारण किसानहरूले समस्या भोग्नु परिरहेको, इजरायलमा हमासको कब्जामा रहेको विपिन जोशीको रिहाइ लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद शारदादेवी भट्टले भइपरी आउने विपद्का कारण भइरहेको जनधनको क्षतिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै तत्कालीन तथा दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी पूर्व तयारी, उद्धार एवं राहतका लागि सरकारसँग माग गर्नुभयो ।
सांसद नरबहादुर विष्टले विपिन जोशीको उद्धारका लागि उनका आमा र बहिनी इजरायलमा रहेको र खर्चको अभाव रहेको भन्दै त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
सांसद कृष्ण बहादुर रोकायाले पछिल्लो समय सामाजिक सञ्जालमा पुराना र ठुला दलहरूप्रति नकारात्मक भावहरू पैदा गराउन खोजिएको भन्दै यस्ता भाष्यप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
सांसद सावित्री मल्लले कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा एक पालिकाबाट अर्को पालिकासम्म पुग्न समस्या भएको तथा चाडपर्वहरू समेत नजिकिँदै गर्दा यसले झनै समस्या उत्पन्न गर्ने भन्दै समयमा नै यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
सांसद भुवन बहादुर सुनारले युवा शक्तिलाई आफ्नै देशमा रोजगारी सिर्जना गर्ने योजनामा सरकारले उल्लेख्य काम गर्न नसकेको बताउनुभयो ।
सांसद नमरायणदत्त भट्ट, सांसद गंगाकुमारी बेलवासे, इन्दिरादेवी गौतमले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्