हिन्दुकुश-हिमालय संसदीय सम्मेलन काठमाडौँमा जारी
काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरण र हिमाली क्षेत्र संरक्षणको लक्ष्य सहित हिन्दुकुश-हिमालय संसदीय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
काठमाडौँमा आयोजित सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु संकट न्यूनीकरणका लागि साझा कूटनीतिक सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले हिमाल, वन र खेतीयोग्य भूमिबाट पाइने पानी, अक्सिजन र उर्वरता जलवायु परिवर्तनका असरले सङ्कटमा परेको बताउनुभयो । उहाँले वैज्ञानिक तथ्य र जनताको मागलाई आधार मानेर जलवायु तथा जैविक विविधता संरक्षणका नीतिहरू तर्जुमा गर्न आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।

सम्मेलनमा, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले जलवायु संकट अब दैनिक वास्तविकता बनेको भन्नुहुँदै, कार्बन उत्सर्जन घटाउन र जलवायु परिवर्तनको क्षति रोक्न सबै राष्ट्रले तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले सम्मेलनले हिमाली क्षेत्रको संरक्षण र जलवायु असर न्यूनीकरणका लागि सबै देशबीच साझा संवाद र नीति निर्माणको अवसर प्रदान गरेको बताउनुभयो ।

भुटानका प्रतिनिधि, सुशासन समितिका सदस्य फुन्त्सो राप्तेनले तापक्रम, वर्षा र हिमपातमा देखिएको असामान्यता र त्यसले जलस्रोतमा परेको असरलाई जोड दिनुहुँदै भुटानको नीति वातावरणमैत्री र दिगो विकासप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
पाकिस्तानका प्रतिनिधि, रुनाजा हसनले पाकिस्तानमा बाढी र खडेरीका कारण भएको क्षति स्मरण गर्नुहुँदै हिन्दुकुश-हिमालय क्षेत्रलाई साझा सम्पदा र उत्तरदायित्वका रूपमा संरक्षण गर्नुपर्ने धारण व्यक्त गर्नुभयो ।
बङ्गलादेशका प्रतिनिधि, चित्तागंग हिल ट्रयाक अफेयर्सका सल्लाहकार, सुप्रदीप चक्माले हिन्दुकुश क्षेत्रका देशहरूमा हालैमा आइपरेका विनाशकारी प्रभाव स्मरण गर्नुहुँदै जलवायु परिवर्तनविरुद्ध तत्काल कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।

म्यानमारका प्रतिनिधि, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण मन्त्रालयबाट डा. थुवाङ नाइङ ऊले, भूमि व्यवस्थापन र वायुप्रदूषण न्यूनीकरणमा सबै देशको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै, म्यान्मारमा वन तथा वन्यजन्तु संरक्षणका गतिविधिलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
आज र भोलि हुने दुई दिने सम्मेलनमा नेपाल सहित हिन्दुकुश-हिमालय क्षेत्र भित्र पर्ने विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्