तपाईँ सुन्दै हुनुहुन्छः

स्याउ कृषकलाई अरिङ्गालको डर, ढुवानी गर्न पिठ्युँकै भर

बाजुरा । बाजुरामा स्याउ पाक्न थालेसँगै कृषकहरू चिन्तित भएका छन् । बजार पठाउने अवस्था नआउँदै अरिङ्गालले पाक्दै गरेका स्याउ खान थालेपछि कृषकहरू थोरै–थोरै मात्रामा स्याउ टिपेर स्थानीय बजारमा विक्री गर्न थालेका छन्।

स्वामिकार्तिक खापर गाउँपालिका–१ जोरु सुर्केसी मेलाकी स्याउ कृषक सुनिता कडाराका अनुसार भदौको अन्तिम सातासम्म मात्र बजार पठाउन मिल्ने गरी स्याउ पाक्ने भए पनि अरिङ्गालको त्रासका कारण आधी पाकेको अवस्थामा नै स्याउ बेच्नुपर्ने बाध्यता आएको छ। कृषक कडाराले यसपालि स्याउ राम्रो उत्पादन भएको भए पनि अरिङ्गालले खाएर नष्ट गरेको दुखेसो पोख्नुभयो । 

त्यस्तै सहारा स्याउ गार्डेन पाण्डुसैनका कृषक आशिष रावत भन्नुहुन्छ, “हामीलाई हरेक वर्ष ढुवानीकै समस्या हुन्छ। अहिले त अरिङ्गालले खान थालेपछि अधपाकेको बेलामै बेच्नुपर्ने बाध्यता आएको छ। सडक अवरुद्ध हुँदा करिब पाँच घण्टा पिठ्युँमै बोकेर मार्तडी ल्याउनुपर्ने हुन्छ।”

करिब दुई महिना यता मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध हुँदा ढुवानी समस्या थपिएको कृषकहरूको गुनासो छ। सडक अवरुद्ध भएकै कारण स्याउ कृषकहरू वर्षेनी घाटामा पर्न बाध्य हुँदै आएका छन्।

कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार अझै स्याउ टिप्ने समय नभएको र आवश्यक ढुवानीको व्यवस्था उत्पादनपछि गर्ने तयारी भइरहेको छ।

बाजुराको पाण्डुसैन, जुकोट, जगन्नाथ सहित जिल्लाभर करिब एक सय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button