तपाईँ सुन्दै हुनुहुन्छः

भाषागत समावेशीताले सङ्घीयताको मर्मलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भाषागत समावेशीताले सङ्घीयताको मर्मलाई सम्बोधन गर्ने बताउनुभएको छ। 

काठमाडौँमा आज तामाङ पत्रकार सङ्घले आयोजना गरेको ३१ औँ तामाङ प्रसारण दिवसको अवसरमा आयोजित तामाङ मिडिया अवार्ड–२०८२ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले अरू क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताउनुभयो । 

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङका अनुसार रेडियो नेपाल, नेपाल टेलिभिजन, गोर्खा पत्र र रासस जस्ता सरकारी माध्यममा मातृभाषाको समावेशी थप्ने कार्य तीव्र भइरहेको सुनाउनुभयो । जस अन्तर्गत गोर्खा पत्रमा हाल सम्म ४५ वटा मातृभाषामा समाचार सम्प्रेषण भइरहेको, रेडियो नेपालमा २६ वटा मातृभाषाहरू र राससमा हाल सम्म नेपाल भाषा र मैथिली मातृभाषामा समाचार सेवा विस्तार सुरु गरिएको छ । सञ्चार मन्त्री गुरुङले सञ्चार माध्यममा भाषागत समावेशी गर्ने कार्यलाई मुख्य प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । जस अन्तर्गत यो वर्ष नै राससमा तामाङ भाषाको समाचार सेवा विस्तार गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो । 

त्यस्तै, उहाँले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामार्फत समितिमा छलफलको क्रममा रहेको मिडिया विधेयक काउन्सिल लगभग अन्तिम निष्कर्षमा पुगेको बताउनुभयो । यसका साथै मन्त्रालयले भर्खरै एआई नीति मन्त्रीपरिषद्बाट पास गरेको र अब छिट्टै नै कार्यान्वयन गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । सरकारले डिजिटल फ्रेमवर्क नेपालको परिकल्पनालाई साकार पार्न एआई नीतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँको धारणा थियो । एआई नीति लागु गर्नका लागि आवश्यक पर्ने भौतिक संरचनाको निर्माण गर्ने, फो जी नेटवर्कलाई तीव्र पार्दै फाइभ जि नेटवर्कको सुरुवात गर्ने, डाटा सेन्टहरू खोल्ने र आवश्यक आइटि जनशक्तिको निर्माण गर्ने लगायतका योजना अन्तर्गत मन्त्रालये गृहकार्य गर्दै आएको विश्वास समेत मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका उप–सम्पादक टिकाराम तामाङ र धनकुटाका रेडियो पत्रकार मालति मोक्तानलाई यस वर्षको तामाङ मिडिया अवार्डले पुरस्कृत गरिएको थियो । सञ्चार मन्त्री गुरुङले पत्रकार द्वयलाई तामाङ र मोक्तानलाई पुरस्कार हस्तान्तरण गरि प्रोत्साहन गर्नुभएको थियो । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाइ मन्त्री कृष्ण कुमार तामाङले तामाङ भाषालाई सरकारी कामकाजमा कार्यान्वयन गराउन आफु प्रयत्नशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले अवार्ड प्रदानमार्फत सङ्घले तामाङ समुदायका पत्रकारको संरक्षण, प्रवद्र्धन वृद्धि विकासमा सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button