तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा ‘वल्के’ पर्व मनाइँदै

कैलाली । जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्व सुदूरपश्चिम प्रदेशमा आज मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष भदौ १ गते मनाइन्छ । वल्के भन्नाले ‘कोसेली’ वा ‘उपहार’ भन्ने बुझिन्छ ।

आजका दिन बिहानै शुद्ध भएर इष्टमित्र, आफन्त र मान्यजन तथा छिमेकीलाई सगुनका रुपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर पर्व मनाउने गरिएको धनगढीका शिवराज जोशीले बताउनुभयो । 

“गाउँघरतिर भने नहुनेका घरमा गाई, भैँसीको दूध, दही दिने चलन छ, जसलाई हामी स्थानीय भाषामा गोरस÷सितन पनि भन्छौँ ।”

पर्वमा विभिन्न स्थानीय परिकार पकाएर खाने र खुवाउने चलन छ । यसदिन विवाहित छोरीलाई माइती बोलाएर मिष्ठान्न भोजन गराउने चलन छ । परापूर्वकालदेखि ‘मरुला भनेर ‘विशु’ खानु, बाँचे भनेर ‘वल्के’ खानु’ भनाइ पनि छ । ‘विशु’ भन्नाले नयाँ वर्ष अर्थात् वैशाख १ गते मनाइने पर्व हो ।

त्यसैगरी, यस चाडमा समूहमा विभाजन भई देउडा र पिङ खेल्ने तथा लोक भाकामा गीत पनि गाइन्छ । प्रदेशका केही पहाडी जिल्लामा यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइन्छ । यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट बर्खामा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने रोग निको हुने विश्वास छ । यो पर्व भारतको कुमाउ, गडवाललगायतका स्थानमा पनि मनाइन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button