निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे

भैरहवा (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे आज सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाले आयोजना गरेको छलफलमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई निषेध गर्न नमिल्ने उल्लेख गर्नुभयो ।
उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी सञ्चालन गर्न लागि आफू लागेको पनि उल्लेख गर्नुभयो । “विमानस्थल सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो, “सुरक्षा, अध्यागमनलगायत विषय सरकार मातहत आउने भएकाले निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ ।”
मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन पर्यटन मन्त्रीको मात्रै चाहनाले सम्भव नहुने उल्लेख गर्दै सबै पक्षको सहयोग आवश्यक भएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै हुने भारत भ्रमणको क्रममा हवाई रुट परमिट, नेपालका दुई विमानस्थल सञ्चालनको विषय प्राथमिकताका साथ उठाउने गरी काम भइरहेको बताउनुभयो ।
त्यस अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थल सञ्चालन हुन नसक्नु दुःखद भएको बताउनुभयो । काठमाडौँमा उडान चापले हवाईमार्ग अवरुद्ध भइरहँदा विमानलाई भैरहवामा अवतरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य राजेशकुमार अग्रवाल र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा र पोखरास्थित विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने धारणा राख्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन ? भन्ने कुरा सरकारले प्रष्ट पार्न आवश्यक रहेको बताउनुभयो । “हामीलाई सधैँ निराशामा राख्न हुँदैन, विमानस्थल चलाउन सकिँदैन भने सक्दैनौँ भन्नुपर्छ”, उहाँले भन्नुभयो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यात्रुलाई थप सुविधा नदिँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताउनुभयो । “श्रम, भिसा र म्यानपावरका लागि काठमाडौँ धाउन परेपछि यहाँ यात्रु किन आउँछन् ?पहिला यी समस्या समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा नियमितता दिन नसकेको जनाउनुभयो । तत्कालका लागि नेपाल एयरलाइन्सबाट भए नियमित उडान गर्नुपर्नेमा उहाँको जोड छ ।








प्रतिक्रिया राख्नुहोस्