सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते
सर्लाही । सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका वडा नं.५ पडरियाका ६० वर्षीय बरन बैठा र ईश्वरपुर नगरपालिका वडा नं. ७ पोखरी टोलका २४ वर्षीय अमनदिप राम रहेका छन् ।
चक्रघट्टा गाउँपालिका वडा नं. ५ पडरियास्थित भित्री सडक खण्डमा बिआर ३० ए जी ५०३६ नम्बरको मोटरसाइकलले पैदल यात्री बैठा र सोही स्थानका २० वर्षीय दीपक मण्डललाई ठक्कर दिएका थिए । ठक्करबाट बैठा र मण्डल गम्भीर घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक चक्रघट्टा वडा नं.१ का २० वर्षीय हरे कृष्ण यादव घाइते भएका छन्। मण्डल र मोटरसाइकल चालक यादवको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टाले जनाएको छ।
यस्तै, सर्लाहीका ईश्वरपुर नगरपालिका वडा नं.७ पोखरी टोलका २४ वर्षीय रामको बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
गत मङ्गलवार दिउँसो करिब २ बजे पोखरियाबाट राईटरखोरतर्फ जाँदै गर्दा ईश्वरपुर–१ चौलिखास्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा राम गम्भीर घाइते भएका थिए । तीव्र गतिका कारण उनले चलाएको एचपी.५५ सी. ६१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो ।
दुर्घटनामा परी रामको टाउको, छाती, खुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई तत्कालै उद्धार गरी बयलबासस्थित अमृत मेडिकलमा प्रारम्भिक उपचारका लागि लगिएको थियो ।अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई बाराको एलएस न्युरो अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोही अस्पतालमा उपचारकै क्रममा बिहीबार साँझ करिब पौने सात बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक रामले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमति पत्र पनि नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया राख्नुहोस्