तपाईँ सुन्दै हुनुहुन्छः

सात प्रदेशका श्रम प्रतिष्ठान सम्मानित

काठमाडौँ । सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने सातै प्रदेशका सात वटा प्रतिष्ठान सम्मानित गरेको छ । 

आज यहाँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रत्येक प्रदेशबाट एक÷एक गरी सात प्रतिष्ठानलाई सम्मानित गरिएको हो । 

मन्त्री शरत्सिंह भण्डारीले कोशी प्रदेशका बुट्टाबारी टि प्रालि, मधेसको डाबर नेपाल प्रालि, बागमतीको वरुण विभरेज (नेपाल) प्रालि, गण्डकीको गोर्खा ब्रुअरी प्रालि, लुम्बिनीको बिजय डिष्टिलरी प्रालि, सुदूरपश्चिमको महाकाली सुगर इ प्रालि र कर्णालीको शुभ होटल प्रालिलाई सम्मानपत्र वितरण गर्नुभयो । 

सोही कार्यक्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रवद्र्धन, अनुसन्धान, नीतिगत परामर्श र सचेतनामूलक गतिविधिमा योगदान पुर्‍याउनुहुने प्रा डा सुनिलकुमार जोशीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । 

सम्मानित हुने प्रतिष्ठानहरूलाई बधाई दिँदै मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको समुचित प्रबन्धबाट श्रमिकको उत्पादकत्व अभिवृद्धि हुने बताउनुभयो । 

उहाँले यसको अभ्यासबाट मुलुकको समग्र आर्थिक एवं सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै सबै प्रतिष्ठानहरूलाई कार्यस्थल स्वास्थ्य, सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन आह्वान समेत गर्नुभयो । 

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विगतको अभ्यास, अनुभव र कमीकमजोरीका आधारमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको स्थितिमा सुधार गर्दै लग्नुपर्नेमा जोड दिनुभयो । यसको अभ्यासले  स्वयं प्रतिष्ठानको सफलता निर्धारण गर्ने उहाँको भनाइ थियो ।   

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेले सम्मानित हुने प्रतिष्ठानहरूलाई २० वटा मापदण्डका आधारमा चयन गरिएको जानकारी दिनुभयो । उहाँले यस सम्मानले आगामी दिनमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा योगदान पुर्‍याउन अन्य प्रतिष्ठानलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button