मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन तयार गर्न ‘केन्द्रीकृत समूह छलफल’ गर्दै मानव अधिकार आयोग

नेपालगञ्ज । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन तथा ओसारपसारको पछिल्लो अवस्था चित्रण गर्न देशव्यापी ‘केन्द्रीकृत समूह छलफल’ थालेको छ । मानव बेचबिखन तथा ओसारपसारको पछिल्लो अवस्थालाई राष्ट्रिय प्रतिवेदनमार्फत सार्वजनिक गर्नका लागि सूचना, तथ्याङ्क तथा सुझाव सङ्कलनका लागि देशव्यापी ‘केन्द्रीकृत समूह छलफल’ थालेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
कोशी र मधेश प्रदेशमा पेशागत रूपमा विभिन्न सरोकारवाला सरकारी, गैरसरकारी तथा नागरिक समाजसँग अन्तरक्रिया, छलफल गर्दै सुझाव सङ्कलन गरिसकेको आयोगले लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्जमा पनि ‘केन्द्रीकृत समूह छलफल’ गरेको आयोगका सहसचिव नवराज सापकोटाले बताउनुभयो । यस विषयमा आज नेपालगञ्जमा छलफल गरिएको छ ।
सीमावर्ती क्षेत्र नेपालगञ्जमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च रहेकोले यहाँका सरोकारवालासँग अन्तरक्रिया गरेर राष्ट्रिय प्रतिवेदनका लागि पृष्ठपोषण सङ्कलन गरिएको सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा बेचबिखन विरुद्ध क्रियाशील सङ्घसंस्थाका प्रतिनिधि, अधिवक्ता, अधिकारकर्मी, पत्रकार लगायतले जिल्लाको अवस्था, मानव बेचबिखन नियन्त्रणमा देखिएका चुनौती, अपनाउनुपर्ने रणनीति, विद्यमान त्रुटिहरू लगायतका विषयमा धारणा व्यक्त गर्दै सुझाव समेत दिएका छन् । पछिल्लो अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपालमा मानव बेचबिखन र ओसारपसारको अवस्था भयावह छ ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले मानव बेचबिखनको स्वरूप र आयाम नयाँ ढङ्गले विकसित भइरहेकोले त्यसलाई लक्षित गरी अबको रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नयाँ विकसित आयामहरूलाई बुझ्न सक्नुपर्नेमा उहाँको जोड छ । कार्यक्रममा प्रा. डा. गोविन्द सुवेदीले मानव बेखविखनको पछिल्लो अवस्था, केन्द्रीकृत समूह छलफल का लागि तय भएको विषयवस्तुबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारी लगायत करिब डेढ दर्जन सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्