तपाईँ सुन्दै हुनुहुन्छः

बौद्धमा पहिलो पटक हिन्दु–बौद्ध गुरुहरूबाट संयुक्त महाकाल पूजा 

काठमाडौँ । धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश दिन काठमाडौँको बौद्धमा पहिलो पटक हिन्दु र बौद्ध धर्मगुरुहरूबाट संयुक्त रूपमा महाकाल पूजा अर्चना गर्दै ऐतिहासिक बौद्ध महाकाल जात्रा २०८२ भव्य रूपमा सम्पन्न गरिएको छ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा सम्पन्न यस जात्रामा लामा, बज्राचार्य र ब्राह्मण गुरुहरू आ–आफ्ना पूजा विधिअनुसार सहभागी हुनुभएको थियो।

मङ्गलवार बिहान बौद्ध महाकाल चौर प्राङ्गणमा यज्ञ मण्डप स्थापना गरी महाकालको विधिपूर्वक पूजा गरिएको थियो। हिन्दु तथा बौद्ध धर्मावलम्बीको बाक्लो उपस्थितिमा सम्पन्न पूजा अर्चना पछि प्रसाद वितरण गरिएको थियो।

समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाका अनुसार, धार्मिक सहिष्णुता अझ मजबुत होस् भन्ने कामनासहित महाकाल पूजा अर्चना गरिएको हो। हिन्दु र बौद्ध दुवै धर्ममा महाकालप्रति गहिरो आस्था रहेकोले संयुक्त पूजा गरिनु स्वाभाविक  भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, रक्षा मन्त्री मानवीर राईलगायत उच्च सरकारी अधिकारीहरूको सहभागिता थियो। मन्त्रीहरूले महाकालको पूजा अर्चना गरी प्रसाद ग्रहण गर्दै धार्मिक समावेशिता र सहिष्णुता कायम गर्न समिति द्वारा गरिएको प्रयासको प्रशंसा गर्नुभयो ।

पूजापछि बौद्ध क्षेत्रका विभिन्न स्थान—रामहिटी, तीनचुली, भुवलडाँडा, पिपलबोट, टुसाल, चुच्चेपाटी—हुँदै महाकालको प्रतिमा खटमा राखी जात्रा निकालिएको थियो। सो अवसरमा विभिन्न झाँकी, सांस्कृतिक नृत्य, र बाजागाजाको साथ हजारौँ भक्तजनको सहभागी रहेको थियो।

धार्मिक विश्वास अनुसार, महाकालको पूजाअर्चनाले समाजमा सुख, शान्ति, रोगव्याधीको नाश र नकारात्मक शक्तिहरूको अन्त्य हुने विश्वास गरिन्छ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले अब हरेक वर्ष नियमित रूपमा यो जात्रा आयोजना गरिने जानकारी गराउनुहुँदै महाकाल भैरवको साधना पूजालाई परम्परागत रूपमा निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button