तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री नियुक्त

कास्की ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. भरत खत्री नियुक्त हुनुभएको छ ।

सत्तारुढ दलहरूबिचको लामो राजनीतिक खिचातानी र भागबन्डाको विवादलाई चिर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्ततः नयाँ उपकुलपति पाएको हो । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. खत्रीलाई उपकुलपति नियुक्त गर्नु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा प्रधानमन्त्री ओलीले मङ्गलवार डा। खत्रीलाई सो पदमा नियुक्त गर्नु भएको हो । यो नियुक्तिसँगै विगत तीन महिनादेखि नेतृत्वविहीन रहेको प्रतिष्ठानको गतिरोध अन्त्य भएको छ । सोल्जर बोर्ड अस्पतालको रूपमा सुरु भई कास्की जिल्ला अस्पताल, गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । त्यसैको मातहतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल छ । प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ चलाइरहेको छ ।

यस शैक्षिक सत्रदेखि एमबिबिएसको पढाइ सुरु भएको छ र ५० जना विद्यार्थीहरू छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पोखरा प्रतिष्ठानका लागि १७ जना आवेदकबाट ६ जनाको नाम सर्टलिस्ट गरेको थियो ।  

नेतृत्वविहीन हुँदा प्रतिष्ठानको नीति, योजना र शैक्षिक गतिविधिमा गम्भीर असर परेको थियो । यो नियुक्तिले अब प्रतिष्ठानका कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button