विषालु च्याउ खाँदा उदयपुरमा आठ जना बिरामी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेका छन्।
विषालु जङ्गली च्याउ खाएर बिरामी हुनेहरूमा वर्ष ८५ की गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की संजु सदा, वर्ष २९ की मन्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
विषालु जङ्गली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाउने तयारी गरेको वडा अध्यक्ष प्रकाश राउतले बताउनु भयो। अध्यक्ष राउतका अनुसार बाँकी पाँच जनाको नगर अस्पताल बेल्टारमै उपचार जारी छ ।
सदा परिवारले मङ्गलवार बिहान घर नजिकै जङ्गलबाट च्याउ ल्याएर खाएको र अचानक बान्ता हुन थालेपछि चौदण्डीगढी आधारभूत नगर अस्पताल बेल्टार भर्ना गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ९ का वडा अध्यक्ष अध्यक्ष प्रकाश राउतले आर्थिक अवस्था दयनीय रहेकाले सदा परिवारको नगरपालिकाले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउनुभयाे ।
प्रतिक्रिया राख्नुहोस्