शेर्पा सञ्चार समूह नेपालद्वारा उद्घोषण तालिम सम्पन्न
काठमाडाैँ । शेर्पा सञ्चार समूह नेपालद्वारा सञ्चालित शेर्पा तथा नेपाली भाषा उद्घोषण तथा भाषणकला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नारायणटारस्थित नेपाल शेर्पा सङ्घको भवनमा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम आयोजना गरेको हो।
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यमा तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष लक्की चौधरीको विशिष्ट आतिथ्यमा संस्थाले हिजो प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि ,नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले बोल्ने क्षमता विकास गर्नु निकै महत्त्वपूर्ण कला भएका र उद्घोषण कलालाई दुर्गम समुदायमाझ पुर्याउन सके प्रभावकारी हुने बताउनुभयो । यसै गरी फोनिजका अध्यक्ष लक्की चौधरीले उद्घोषणकला भनेको सञ्चारको माध्यम भएको र कार्यक्रमलाई राम्रो र आकर्षक बनाउने मुख्य हात कार्यक्रम सञ्चालन गर्ने उद्घोषकको हुने बताउनुभयो ।
शेर्पा तथा नेपाली भाषा उद्घोषण तालिमको सहजीकरण प्रशिक्षक द्वय धर्मगुरु खेन्पो नुर्बु शेर्पा र लामो समय देखि उद्घोषण तालिम प्रदान गर्दै आउनुभएका अनुभवी प्रशिक्षक अग्निप्रसाद भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा तालिम अवधिभरका आफ्ना अनुभवहरू साझा गर्नुहुँदै प्रशिक्षक अग्निप्रसाद भट्टराईले शेर्पा सञ्चार समूह नेपालले शेर्पा भाषा, संस्कार ,संस्कृति संरक्षणका लागि विविध कार्यक्रमहरू आयोजना गर्दै आइरहेकोमा प्रशंसा गर्नुभयो।

संस्थाको कार्यवाहक अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा, धर्मगुरु तथा शेर्पा सञ्चार समूह नेपालका सल्लाहकार आचार्य नुर्बु शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष डोमा शेर्पा, नेपाल शेर्पा विद्यार्थी सङ्घका अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा महिला सङ्घका अध्यक्ष थाक्ची शेर्पा लगायतको व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
साउन १८ गते आइतबारदेखि २५ गतेसम्म भएको उद्घोषण तालिममा करिब ३३ जना प्रशिक्षार्थीहरू लाभान्वित भएका थिए । एक दशक अगि स्थापना भएको शेर्पा सञ्चार समूह नेपालले ओखलढुङ्गा, रामेछाप, ताप्लेजुङ, खोटाङ सोलुखुम्बु र झापा जिल्लामा समेत आफ्नो शाखा विस्तार गरी समाचार लेखन,उद्घोषण ,फोटो पत्रकारिता सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाको कार्यवाहक अध्यक्ष डोल्मा शेर्पाले जानकारी दिनुभयो
कार्यक्रममा प्रशिक्षक द्वय धर्मगुरु खेन्पो नुर्बु शेर्पा र अग्निप्रसाद भट्टराईले ज्युलाई खादा र सम्मान पत्र सहित सम्मान गरिएको थियो भने प्रशिक्षार्थीहरूलाई उज्ज्वल भविष्यको कामनासहित प्रमाणपत्र र खादा वितरण गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्