तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई सही दिशातर्फ डोर्‍याउने दायित्व युवाहरूको काँधमा छ : मन्त्री गुरुङ 

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकलाई सही दिशातर्फ डोर्‍याउन युवाहरूको महत्त्वपूर्ण दायित्व हुने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालको आयोजनामा आज सोमबार ललितपुरमा भएको कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री गुरुङले समाज रूपान्तरणमा युवा नेतृत्व सक्षम हुनुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “दिवसको छलफल मात्रै ठुलो कुरा हैन, प्रतिबद्धता र कार्यान्वयन महत्त्वपूर्ण हो, युवाहरूलाई दिगो विकास लक्ष्यको स्थानीय साझेदार कसरी बनाउने भनेर ध्यान दिएका छौँ ।” नेपाली युवाहरूलाई विदेशमा सूचना प्रविधि क्षेत्रको कम्पनी स्थापना गर्न सक्ने, आम्दानी भित्र्याउन सक्ने गरी कानुनी प्रबन्ध गरेको मन्त्री गुरुङले बताउनुभयो ।  

उहाँले आजको सूचना प्रविधि क्षेत्रको साझेदार र हिस्सेदार युवा हो भन्दै नेपालको विकासमा युवाहरूको सहभागिता महत्त्वपूर्ण छ भन्दै युवाहरूलाई उत्प्रेरित गर्नुभयो । युवाहरूमा नेपाल सरकारको सन्देश प्रवाह गर्दै मन्त्री गुरुङले हरेक तह, क्षेत्र र संरचनामा युवाहरूको सहभागिता सुनिश्चित गर्ने, स्वीकार गर्ने नीति मन्त्रालयबाट बनाइराखेका छौँ भन्नुभयो । 

“राष्ट्रिय युवा नीति छलफलको क्रममा छ,संसद्को समितिमा पुगेको छ, १८ देखि ३५ वर्षसम्मका लागि युवा मान्ने नीति बन्दै छ। चाँडोभन्दा चाँडो सूचना प्रविधिसँग जोडिएका ऐनहरू बनाउने तयारीमा छौँ, सबै युवाहरू सूचना प्रविधिको क्षेत्रमा लाग्नुस्, आर्थिक समृद्धि हासिल गर्नुस्।” उहाँले भन्नुभयो । मन्त्री गुरुङले नेपालले अन्तर्राष्ट्रिय रूपमा निर्धारण गरेको विकास लक्ष्य प्राप्त गर्न युवाको भूमिका महत्त्वपूर्ण रहेको उहाँले सुनाउनुभयो । 

मन्त्री गुरुङले वर्तमान युगमा इन्टरनेटमा पहुँच पनि अनिवार्य आवश्यकता बनिसकेको छ भन्दै प्रविधिको पहुँचमा रहेको असमानता हटाउन कुनै पनि घर, समुदायलाई छोड्नुहुँदैन भनेर लागिरहेका छौँ भन्नुभयो। “ग्रामीण क्षेत्रमा डिजिटल पहुँचको चुनौती छ, कृत्रिम बौद्धिकताले यति धेरै पहुँच अभिवृद्धि गर्दै गर्दा गरिबीहरूमा पहुँच पुग्न सकेको छैन, यस वर्ष प्रत्येक नागरिकमा फोरजीको पहुँच पुर्‍याउने छौँ, नेपालको आफ्नै स्याटलाइट बनाउने कुरामा ध्यान दिएका छौँ, भूउपग्रह नीति यसै वर्ष लागू गर्ने तयारीमा छौँ।” उहाँले भन्नुभयो। 

उहाँले वडा वडा तहसम्म फाइबर सिस्टम पुर्‍याउन सक्यौँ भने गुणस्तरीय इन्टरनेट दिन सक्छौँ भन्दै जनतालाई सेवा प्रवाहमा सहज बनाउने, भ्रष्टाचार न्यूनीकरण गर्ने कुरालाई ध्यान दिएर डिजिटल मैत्री प्रशासनलाई ध्यान दिएका छौँ भन्ने जानकारी गराउनुभयो । 

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूलाई नीति निर्माणदेखि कार्यान्वयनका तहसम्म समावेश गराउन ध्यान दिँदै युवामैत्री वर्तमान भविष्यका लागि उद्यमशीलता र रोजगारीसँग जोडका लागि ध्यान दिएर लाग्नुपर्छ भन्नेमा जोड दिनुभयो । 

आयोनका पूर्वकार्यकारी सदस्य तिलोतमा पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा युवाहरूलाई राजनीतिक नेतृत्वमा स्थापित गर्न ध्यान दिएर प्राथमिकताका आधारमा काम गरिनुपर्नेमा जोड दिनुभयो। 

सन् २००५ मा स्थापना भएको आयोन सात वटै प्रदेशमा रहेका विभिन्न ९२ वटा युवा संस्थाहरूको छाता संस्था सञ्जाल हो। यस संस्थाले स्थापना कालदेखि युवा क्षमता अभिवृद्धि, स्वयंसेवक परिचालन, विपद् व्यवस्थापन, युवाका सवालमा पैरवी, नीति निर्माण तहमा युवाको सहभागिता तथा समग्र राष्ट्र निर्माणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको साझेदारी र समन्वयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जानकारी गराइयो ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को साधारण सभाबाट हरेक वर्ष १२ अगस्ट लाई “अन्तर्राष्ट्रिय युवा दिवस” का रूपमा मनाउने निर्णय भए अनुसार आयोनले “दिगो विकास लक्ष्य र त्यसपछिका लागि स्थानीय युवाको नेतृत्व” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button