तपाईँ सुन्दै हुनुहुन्छः

वैकल्पिक विकास वित्त सम्बन्धी विधेयकमा छलफल सुरु

काठमाडौँ । प्रतिनिधि सभा,अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेकमाथि दफावार छलफल सुरु गरेको छ । 

समितिको आजको बैठकमा भएको छलफलमा विधेयकको प्रस्तावना, नाम, वैकल्पिक विकास वित्त परिचालन र प्रयोग, वैकल्पिक विकास वित्त प्रयोगको क्षेत्र र आयोजना, वैकल्पिक विकास वित्त कोषको स्थापना लगायतका विषयमा सहमति भएको छ ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राज्यको सञ्चित कोषबाट रकम जुटाउन नसकी पूर्वाधार निर्माणमा भइरहेको समस्या समाधान गर्न विधेयक महत्त्वपूर्ण साबित हुने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सरकारले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ विधेयक ल्याइएकाले प्रतिफल दिने खालका आयोजनाहरू यसको प्राथमिकतामा पर्ने स्पष्ट पार्नुभयो ।

छलफलका क्रममा वैकल्पिक विकास वित्त प्रयोगको क्षेत्र र आयोजनाहरूमा कृषि र पशुपालन, पर्यटन, खानीजन्य उत्पादन, सिँचाइ आयोजना, मल उत्पादन, बन पैदावार उत्पादन र सञ्चलन लगायतका विषय थप गर्दै संशोधन सहित सहमति जुटेको छ ।   

वैकल्पिक विकास वित्त कोषको अधिकृत पुँजी एक खर्व रुपैयाँ रहेको छ भने कोषमा नेपाल सरकारको ५१ प्रतिशत, विभिन्न अवकाश कोषहरूबाट २५ प्रतिशत र विभिन्न बिमा कम्पनीहरूबाट २४ प्रतिशत रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button