दिवङ्गत आफन्तको सम्झनामा सामूहिक गाइजात्रा
नेपालगन्ज । नेपालगन्जमा सामूहिक गाई जात्रा निकालिएको छ । नेवा: पुच: बाँकेको आयोजनामा आज गाई जात्रा निकालिएको हो । ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ सात परिवारले आफ्ना दिवङ्गत आफन्तहरूको सम्झनामा सामूहिक गाई जात्रा निकालेका हुन् ।

सुर्खेत रोडस्थित स्वस्तिक कटेजबाट निकालिएको गाई जात्रा त्यहाँबाट धम्बोझी चोक, सहिद सेतु विक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर पार्कसम्म पुगेर सम्पन्न गरिएको थियो । उक्त अवसरमा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गर्नुका साथै लाखे नाच पनि देखाएका थिए ।
नेवारी समुदायमा एक वर्षभित्र मृत्यु भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा छ । जनविश्वास अनुसार यसो गर्दा मृतकले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्दछन् । नेपालगन्जमा कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ र दिपाकुमारी रेग्मी श्रेष्ठको सम्झनामा गाईजात्रा निकालिएको हो ।
प्रतिक्रिया राख्नुहोस्