ठोरीमा दुर्लभ पाटे बाघ मृत फेला
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका बडा नम्बर–४, विजयवस्ती नजिकैको गोपीवस्तीमा आज बिहान दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

वीरगञ्ज–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत गोपीवस्तीबाट दक्षिणतर्फ घाइते अवस्थामा देखिएको बाघ मृत फेला परेको हो ।
निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठका अनुसार, बाघको मृत्यु आपसी लडाइँका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थल वरिपरि जमिन खोतलिएको, रगतको दाग देखिनुका साथै मृत बाघको घाँटीमा अर्को बाघले टोक्दा हुने खालको गहिरो चोट पाइएका छन् ।
आज बिहान खेततर्फ जाँदै गरेका किसानहरूले बाटोमा बाघ लडिरहेको देखेपछि सुरुमा त्रसित हुँदै भागेका थिए । पछि नजिक गएर हेर्दा बाघ मृत भएको पुष्टि भएको हो ।
घटनास्थल पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिक छ । त्यस कारण मृत बाघ त्यही जङ्गलबाट आएको हुन सक्ने अनुमान छ ।
लडाइँमा संलग्न अर्को बाघ घाइते भएको हुन सक्ने आशङ्का अधिकारीहरूले व्यक्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्