ताप्लेजुङ गोल्डकप : सुनसरीको विजयी सुरुवात
ताप्लेजुङ । ताप्लेजुङमा शनिवारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा द योङ ब्रदर्श सुनसरीले विजयी सुरुवात गरेको छ । भानु माविको खेल मैदानमा सम्पन्न खेलमा तेल्लोक स्पोर्टिङ क्लबलाई २—१ गोल अन्तरले हराउँदै द योङ ब्रदर्श सुनसरीले विजयको सुरुवात गरेको हो ।

खेलको २६औँ मिनेटमा आयोजकको तर्फबाट सञ्जय श्रेष्ठले गोल गर्नुहुँदै टिमलाई अग्रता दिलाउनु भएको थियो । तर, खेलको ७०औँ मिनेटमा द योङ ब्रदर्श क्लब इटहरीका नीरज खड्का गोल गर्नुहुँदै टिमलाई बराबरीमा ल्याउन सफल हुनुभएको थियो । यस्तै खेलको ७४औँ मिनेटमा द योङ ब्रदर्श कै योगन राईले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाउन सफल हुनुभएको थियो । यो सँगै द योङ ब्रदर्श क्लब इटहरीले विजयको यात्रा सुरु गरेको छ ।
भोली (आइतबार) सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबिच आमनेसामने हुने छन् । आजको विजेता द योङ ब्रदर्श सुनसरीले सोमबार हुने भारत र काठमाडौँबिचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्ने छ ।
लाखेजात्रा अवसरमा ताप्लेजुङमा सञ्चालन भएको प्रतियोगितामा विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ ।
भारतका एकसहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्