तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा असहमति जनाएको छ ।

एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको बताउनुभयो । आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो । 

“स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो । नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ । राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षा बमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो”, एमाले केन्द्रीय निर्वाचन प्रमुख आचार्यले भन्नुभयो ।

उहाँले सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले असहमति रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button