प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बहुविवाहलाई मान्यता दिने गरी कानुन बनाउन नहुने भन्ने विषय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरूले मधेस प्रदेशमा सुख्खा बढेपछि सङ्कटग्रस्त क्षेत्र घोषणा भए पनि राहतका कार्यक्रमहरू पुग्न नसकेको भन्दै तत्कालीन र दीर्घकालीन समस्या समाधानका कार्यक्रमहरू तत्काल सुरु गर्न माग गर्नुभयो ।
सांसदहरूले सङ्कटग्रस्त क्षेत्र घोषणा भएको लामो समय भइसक्दा समेत ट्युबवेल, डिप बोरिङहरूको व्यवस्था हुन नसक्दा मानिसहरू खाने पानी र सिँचाइको समस्या खेप्न बाध्य भइरहेको बताउनुभयो ।
सांसदहरूले मिर्गौला, क्यान्सर लगायतका ४ प्रकारका दीर्घ रोगीहरूलाई सरकारले मासिक ५ हजार दिने गरेको भए पनि गरिबी परिचयपत्र अनिवार्य गरिएका जिल्लाका बिरामीहरू परिचयपत्रको अभावमा पीडित खेप्नुपरिरहेको भन्दै गरिबिका आधारमा नभई रोगका आधारमा सहयोग प्रदान गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरूले देशका विभिन्न भागमा रहेका स्वास्थ्य संस्था र अस्पतालहरूमा जनशक्तिको अभाव हुँदा नागरिकले सेवा पाउन नसकिरहेको भन्दै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गरी सहज स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्नुभयो ।
यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधि सभा बहिष्कार गरेका छन् ।
प्रतिपक्षी दल रास्वपा र र राप्रपाका सांसदहरूले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गर्न सरकारले आलटाल गरिरहेको भन्दै बैठक पनि बहिष्कार गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्