बाँकेमा थन्किएको युरिया मल वितरण सुरु, वितरण प्रक्रियामा अनुगमन
बाँके। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय, नेपालगञ्जमा थन्किएको ६,९७१ बोरा युरिया मल आजदेखि वितरण सुरु गरिएको छ।

प्रदेश कृषि मन्त्रालयबाट कोटा निर्धारणका लागि पत्र आउन ढिलो भएको कारण मल वितरणमा ढिलाइ भएको कर्पोरेसनका प्रदेश प्रमुख वासुदेव उपाध्यायले जानकारी दिनुभयो। मल वितरणमा ढिलाइ हुँदा किसान आन्दोलित बनेका थिए। नेपालगञ्जका मेयर प्रशान्त विष्ट समेत आन्दोलनमा सरिक भएपछि कृषि मन्त्रालयले कोटा निर्धारणको पत्र पठाएको र त्यसलगत्तै वितरण सुरु गरिएको उपाध्यायले बताउनुभयो।

हालसम्म बैजनाथ गाउँपालिकाबाट दुई डिलरले २३१ बोरा मल लगेका छन्। यस्तै, नेपालगञ्ज उपमहानगरपालिकालाई १,०५५, राप्तीसोनारी गाउँपालिकालाई १,१०८, खजुरा गाउँपालिकालाई १,०४६, बैजनाथ गाउँपालिकालाई ९१८, डुडुवा गाउँपालिकालाई ८१५, कोहलपुर नगरपालिकालाई ७३१ र जानकी गाउँपालिकालाई ७२० बोरा मल वितरणको कोटा निर्धारण गरिएको छ।

बाँकेमा हाल १२० वटा सहकारी डिलरमार्फत मल वितरण भइरहेको छ। तर, किसानहरूले सहकारीहरूले मल व्यापारीलाई बेचेको, मूल्य मनपरी लिएको र वास्तविक किसानले मल पाउन कठिन भएको गुनासो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले मल वितरण प्रक्रियाको अनुगमन थालेको जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्