भेरी अस्पतालमा फिजियोथेरापी सेवा लिने बिरामीको संख्यामा वृद्धि
बाँके। भेरी अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएपछि सो सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेसँगै हाडजोर्नी तथा नशासम्बन्धी समस्याका बिरामीलाई सहज उपचार सुविधा मिलेको जनाएको छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले थेरापी सेवा विस्तारको प्रशंसा गर्दै आफ्ना छोराको मोटरसाइकल दुर्घटनापछि भएको शल्यक्रियापछि थेरापी सेवा सुलभ रूपमा पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले न्युन शुल्कमा सेवा उपलब्ध भएको र जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताए। साथै, गाउँपालिकामा पनि सो सेवा विस्तार गर्न कार्यपालिका स्तरमा छलफल भइरहेको जानकारी दिनुभयो।
भेरी अस्पतालकी फिजियोथेरापिष्ट बिहानी श्रेष्ठका अनुसार सेवा सुरु भएपछि दैनिक ३० देखि ४० जनाले फिजियोथेरापी लिइरहेका छन्। गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ७ हजार ९५० बिरामीले सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो।
फिजियोथेरापी सेवा सुरु भएसँगै हाडजोर्नीको उपचारसँगै नशा च्यापिएको, खुम्चिएको, मासु च्यातिएको लगायत समस्याका बिरामीले समेत उपचार पाउन थालेका छन्।
श्रेष्ठले नेपालगञ्जमा पनि विशेष प्राथमिकताका साथ ‘नेपालगञ्ज फिजियोथेरापी क्लिनिक’ सञ्चालनमा ल्याइएको जानकारी दिइन्। उहाँका अनुसार फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, लुलो हुने, झमझमाउने, प्यारालाइसिस, अंग नचल्ने बालबालिकासहितका समस्या उपचारमा सहयोग पुग्नेछ।







प्रतिक्रिया राख्नुहोस्