तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया काउन्सिल विधेयकमाथि सञ्चार मन्त्री र पत्रकारबीच छलफल

काठमाडौँ । प्रेस चौतारी नेपालको आयोजनामा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र पत्रकारहरुबीच मिडिया काउन्सिल विधेयकमाथि छलफल भएको छ । 

सञ्चार मन्त्री गुरुङले छलफलमा उठेका प्रश्नहरूको सम्बोधन गर्दै प्रेस स्वतन्त्रता र स्वायत्तताप्रति विधेयक संवेदनशील हुने बताउनुभयो । उहाँले सो विधेयकलाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्नरत रहेको उल्लेख गर्नुभयो ।

छलफलमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाँउलेले मिडिया काउन्सिल विधेयकले पत्रकारलाई आचारसंहितामा रहन र पत्रकारको गुनासो सुन्ने निकायको रूपमा स्थापित गर्न आग्रह गर्नुभयो । बेलायतको प्रेस काउन्सिलको संरचनागत अभ्यासको उदाहरण दिँदै उहाँले राज्य र पत्रकारबिचको सन्तुलन कायम गर्न पनि सो विधेयकको संरचना स्वायत्त हुनुपर्नेमा जोड दिनुभयो ।  

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले मिडिया काउन्सिल पत्रकारको न्यायालय जस्तै हुने भएकाले यसको मर्यादित भन्दा स्वनियमनमा अभिप्रेरित गर्नुपर्ने धारणा राख्नुभयो । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारका लागि बनाउन लागिएको विधेयकलाई पत्रकारले अपनत्व लिने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा प्रेस चौतारीका महासचिव हिरामान लामा, पूर्व अध्यक्षहरू, गणेश बस्नेत, राजेन्द्र अर्याल, सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टलगायतको उपस्थिति थियो । 

यसैबीच आजै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० लाई आमसञ्चार परिषद् विधेयक नामकरण गर्नेमा सहमति भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button