राष्ट्रिय गौरवका आयोजना प्रभावकारी ढङ्गले अगाडि बढाउन मन्त्रालय प्रतिबद्ध : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राष्ट्रिय गौरवका आयोजनाहरूलाई प्रभावकारी ढङ्गले अगाडी बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन, प्रगति अवस्था र समस्या समाधानमा भएका प्रयास सम्बन्धी छलफलमा मन्त्री पाण्डेले निर्माण सम्पन्न भएका आयोजना नियमित सञ्चालन गर्ने र सम्पन्न नभएका आयोजनालाई सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको हो ।
मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भई सञ्चालनमा रहेको बताउँदै बाँकी आयोजनाहरूको पनि निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।
निजगढ विमानस्थलको काममा हालसम्म अन्यौलता देखिएको भएपनि यस पटकको बजेटमा विमानस्थल निर्माण र सञ्चालनको मोडालिटीका विषयमा समेत ध्यान दिइएको बताउँदै विमानस्थल निर्माणमा देखिएका जटिलता हटाएर काम अगाडी बढाउने मन्त्री पाण्डेले बताउनुभयो ।
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी देशको विकासको गतिलाई अगाडी बढाउन नीति तथा कानुनमा सुधार गरी निजी क्षेत्रलाई आकर्षित गर्ने पनि मन्त्री पाण्डेले बताउनुभयो ।
छलफलमा राष्ट्रिय गौरवका आयोजना निर्देशक हरि अधिकारीले पोखरा र भैरहवा विमानस्थल निर्माण सम्पन्न भई सञ्चालन भइरहेको र निजगढ विमानस्थलको काम अगाडी बढाउन केही प्राविधिक र कानुनी समस्या रहेकोमा त्यसको अध्ययन गरेर अगाडी बढाइने जानकारी दिनुभयो ।
सांसदहरूले मुलुकको संवृद्धिको आधार पर्यटन क्षेत्र भएकाले हरेक दृष्टिकोणले मुलुकको विकासका लागि निजगढ विमानस्थल महत्त्वपूर्ण विमानस्थलका रूपमा रहेको भन्दै यसको निर्माणमा सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
उहाँहरूले अन्य राष्ट्रिय गौरवका आयोजनाहरू पनि समयमै निर्माण सम्पन्न गर्नुपर्ने, पूर्वाधार विकास र पुन निर्माणमा हुने गरेको ढिलाइप्रति सम्बन्धित पक्ष गम्भीर बन्नुपर्ने, आयोजना निर्माणमा लागत अनुसारको प्रतिफलको आए नआएको विषयमा पनि सोच्नुपर्ने लगायतका सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्