भेरी अस्पतालमा ६ महिनामा ३२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपालगञ्ज । भेरी अस्पतालमा पछिल्लो ६ महिनामा गरिएको परीक्षणमा ३२ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ।

सन् २०२५ को जनवरीदेखि जुनसम्मको यो ६ महिनाको अवधिमा ३२ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको हो । त्यसमा २९ जनाले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् । सङ्क्रमण पुष्टि भएका मध्ये बालबालिकाको सङ्ख्या धेरै छ ।

सङ्क्रमित आमाबुबाबाट जन्मिएका बालबालिकामा जोखिम बढी देखिएको हो । ६ महिनामा भेरी अस्पतालको एआरटी क्लिनिकमा जाँच गरिएकामध्ये १०–१४ वर्ष उमेर समूहका ६० प्रतिशत बालबालिकालाई सङ्क्रमण देखिएको छ । १५–१९ वर्ष उमेर समूहका ५० प्रतिशत र ४०–४९ उमेर समूहका ४५ प्रतिशतलाई एचआइभी सङ्क्रमण देखिएको एएचएफ नेपालका कार्यक्रम संयोजक सञ्जय कुमार पौडेलले जानकारी ।
भेरी अस्पतालमा अहिले ६१३ जनाले एआरटी सेवा लिइरहेका छन् । ती मध्ये ५९९ जना स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका छन् । जसका कारण उनीहरूको उपचारमा आर्थिक भार कम पर्न गएको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन समेत रहनुभएका एआरटी फोकल पर्सन डा.सङ्केत कुमार रिसालले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितहरूलाई एआइडी हेल्थकेयर फाउण्डेसन नेपाल परियोजना अन्तर्गत यातायात, प्रयोगशाला परीक्षण, औषधि र जटिल समस्या आए त्यसको व्यवस्थापनमा सहयोग गर्ने गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्