बजाज स्पोर्टस् अवार्ड पहिलो पटक पोखरामा हुने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने प्रतिष्ठित बजाज पल्सर स्पोर्टस् अवार्ड पहिलो पटक राजधानी बाहिर पोखरामा हुने भएको छ ।

एनएसजेएफले २०६० सालदेखि निरन्तर गर्दै आएको अवार्डको २२ औँ संस्करण आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा हुने बुधवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।
यस अवार्डलाई सफल पार्न पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बुधवार मेयर धनराज आचार्य र मञ्चका अध्यक्ष निरञ्जन अधिकारीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अध्यक्ष अधिकारीका अनुसार पोखरा भ्रमण वर्ष २०२५ लाई मध्यनजर गर्दै अवार्ड पोखरामा गर्दा विश्वका ३४ भन्दा बढी मुलुकमा पोखराको प्रचार–प्रसार हुने छ । उक्त अवार्डको प्रवर्द्धकको रूपमा पोखरा महानगर हुने भएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई खेलकुदको उर्वर भूमि भन्दै अवार्डको सफल आयोजनाका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अवार्ड अन्तरगत १० विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिनेछ । उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट र टिम अफ दी इयर विधामा विजेता घोषित हुने भएका छन् ।
पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ दिइनेछ । पिपल्स च्वाइस र अन्य मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्