तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज सहित मधेशमा उत्पन्न जल सङ्कटको जड, चुरे क्षेत्रको विनाश 

वीरगञ्ज । मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगन्ज सहित मधेशमा गहिरिँदै गएको जल सङ्कटको जड अन्ततः चुरे क्षेत्रको विनाश रहेको स्पष्ट देखिन थालेको छ । 

वर्षातको पानी सञ्चित भई जमिनमुनि रिचार्ज हुने प्रमुख स्रोत मानिएको चुरे क्षेत्र जथाभाबी उत्खनन, डोजरमार्फत गहिरो खाल्डो खन्ने, आगलागी र चरिचरन जस्ता गतिविधिका कारण तहसनहस हुँदै गएको छ ।

चुरे, जुन मधेशका लागि “प्राकृतिक पानीको ट्याङ्की” हो, त्यसले नै तराईलाई जीवन दिने काम गर्छ । तर पछिल्ला वर्षहरूमा बालुवा–गिट्टीको अनियन्त्रित उत्खनन, स्थानीय तहहरूको ठेक्कामार्फत दोहन, र संरक्षण उपायको कमजोर कार्यान्वयनले चुरेको सतही जल स्रोत नष्ट भइरहेको मधेस बिश्बबिद्यालयका उप कुलपति डा. दीपक शाक्यले बताउनुभयो ।

चुरेको पहाडी संरचना वर्षातको पानीलाई सञ्चित गरी भूगर्भीय तहमा पठाउने काम गर्छ । त्यही पानी तल बगेर तराईका इनार, नाला, हिँउपानी र सिँचाइका लागि उपयोगी हुन्छ । तर अहिले चुरेको माटो सतह भत्किएपछि पानी जमिनमा समाउन नसक्ने स्थिति आएको शाक्यले दाबी गर्नुभयो । 

सिन्धुली। मकवानपुर र चुरे क्षेत्रमा अहिले पनि केही मात्रामा वर्षा भइरहेको छ, तर त्यो पानी मधेशमा झर्ने र भण्डारण हुने संरचना नहुँदा उपयोग हुन सकिरहेको छैन ।

स्थानीय सरकार गठनपछिका वर्षहरूमा चुरे क्षेत्रका खोलानालामा डोजर र क्रसर उद्योगले अनियन्त्रित उत्खनन गर्दै आएका छन् । तोकिएको मापदण्ड विपरीत ५०–५० फिटसम्म गहिरो खनेर बालुवा र गिट्टी निकालिएको छ । यसले सतही जलस्रोत मात्र होइन, मधेशको भविष्य नै सङ्कटमा पार्ने सङ्केत देखिएको छ ।

हालै मधेस प्रदेश सरकारले २०८२/८३ को नीति तथा कार्यक्रममा चुरेबाट बालुवा–गिट्टी निकासी गर्ने नीति ल्याएको छ । जलवायु विज्ञहरू भन्छन्, “संरक्षणको साटो यस्तो नीति चुरेको अस्तित्वमाथि प्रहार हो ।”

मधेशमा पानीको अभाव होइन, पानी व्यवस्थापनको अभाव हो । यहाँ वार्षिक १५००–२००० मिलिमिटर वर्षा हुन्छ, जुन भारतको राजस्थान वा चीनको बेइजिङको तुलनामा धेरै हो । तर ती ठाउँमा पनि पानीको वैज्ञानिक व्यवस्थापनले आपूर्ति सुनिश्चित गरिएको छ ।

विशेषज्ञहरू भन्छन्, “डीप बोरिङ” पनि विकल्प हो, तर यो प्रक्रिया खर्चिलो र समय लाग्ने भएकाले राज्यको सक्रियता र लगानी अनिवार्य छ । ८–१० वर्षसम्मको योजना आवश्यक पर्छ ।

चुरे विनाश एक दिनमा भएको होइन । सन् १९५४/५५ मा मलेरिया उन्मूलनपछि पुनर्वासका नाममा चुरे क्षेत्रको जङ्गल फडानी गरेर बस्ती बसालियो। त्यसपछि पूर्व–पश्चिम राजमार्ग निर्माणका क्रममा समेत चुरेको ठुलो हिस्सा काटियो । पछिल्लो १०–१५ वर्षमा डोजर र क्रसरले चुरेमा गहिरो चोट पुर्‍याएका छन् ।

यदि यथास्थिति यस्तै रह्यो भने तराई–मधेस मरुभूमि बन्ने सम्भावना टाढा नरहेको दाबी गर्दै मधेस बिश्बबिद्यालयका उप कुलपति डा. शाक्यले वर्षा नहुनु मधेशको समस्या होइन, चुरेको पानी जमिनमुनि पुग्न नसक्नु प्रमुख समस्या भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button